विद्युत निर्यातका लागि पूर्वाधकार तयार

देशकै ठूलो सबस्टेसन सञ्चालनमा



नेपाल समाचारपत्र, काठमाडौं । देशकै ठूलो चार सय केभी क्षमताको ढल्केबर सबस्टेसन सोमबारदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको सबस्टेसन सोमबार उद्घाटन गर्नुभएको छ । १३ बिघामा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसन पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतस“ग विद्युत व्यापारका लागि ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब हो ।

सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब दुई अर्ब २० करोड रुपियाँ लगानीमा निर्माण भएको ४००-२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ४००-२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् ।यसैगरी, २२०-१३२ केभी सबस्टेसनमा रहेका तीन वटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ । सबस्टेसन सञ्चालनमा आएस“गै नेपाल र भारतबीचको ढल्केबर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब एक हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिने छ ।

हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब दुई-दुई सय मेगावाट विद्युत् ढल्केबर सबस्टेसनबाट हेटौडा र इनरुवातर्फ पठाउन सकिनेछ । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिनेछ ।
हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ कभी प्रसारण लाइनमार्फत् करिब तीन सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिनेछ । आन्तरिक खपत गरेर बढी भएको विद्युत्लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिनेछ । जीआईएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको छ । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि यही ढल्केबर सबस्टेसनमा प्राप्त हुनेछ ।

चार सय केभी सबस्टेसन निर्माणका लागि २०७४ माघ २२ गते ठेक्का सम्झौता भएको थियो । कहिले तराईको डुवान कहिले शीतलहर त कहिले कोरोना कहरले सबस्टेसन निर्माण प्रभावित भएको थियो । आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरेको थियो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०÷१३२ केभी सबस्टेसनको निर्माण भएको हो । उत्पादित विद्युत्को आन्तरिक खपत एवम् द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवम् वितरण र अन्तर्देशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्