‘हिन्दू राज्य बनाउने प्रयासमा प्रधानमन्त्री ओली’

0
Shares

काठमाडौं, (नेस)

नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दू राज्य बनाउने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौंमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दू राज्य घोषणा गर्ने चर्चा रहेको दाबी गर्दै पाण्डेले ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको बताउनुभयो ।

आइतबार प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रमपछि आफ्नो धारणा राख्दै पाण्डेले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम कुनै पनि हालतमा परास्त गर्ने बताउनुभयो ।

त्यसै गरी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दू राज्य स्थापनाको षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।