समलिंगी पुरुषहरूलाई कोर्रा हानियो


वन्दा आसेह, (एजेन्सी)

इन्डोनेसियाको रुढीवाढी आसेह प्रान्तमा आपसमा यौन–सम्पर्क राखेको आरोपमा दुईजना पुरुषलाई इस्लामिक धार्मिक प्रहरीले सजायस्वरूप सार्वजनिक स्थलमा दुवैलाई जनही ७७ कोर्रा हानेको छ । तिनीहरूबीच समलिंगी यौन क्रियाकलाप हुने गरेको उजुरी प्रहरीलाई तिनीहरूकै छिमेकीहरूले गरेका थिए ।

वन्दा आसेहको तामान्सारी शहरको पार्कमा तिनीहरूलाई दर्जनौं मानिसको उपस्थितिमा कोर्रा हानिएको थियो । इन्डोनेसियामा कडा इस्लामिक कानुन सरिया लागू गरिएको आसेह एक मात्र प्रान्त हो । सन् २०१५ मा यो कानुन लागू गरिएपछि समलिंगी यौन अपराधका लागि यसरी कोर्रा हानिएको यो तेश्रोपटक हो ।

लामो समयदेखि चलिरहेको पृथकतावादी आन्दोलन दबाउने उद्देश्यले पनि त्यहाँ सरिया कानुन लागू गरिएको हो । नाम नखुलाइएका ती २७ र २९ वर्षीय पुरुषलाई पाँचजना प्रहरीले पालैपालो कोर्रा हानेका थिए । आसेहका निमित्त सरिया प्रहरी प्रमुखहरू त्रिविजानार्कोले छिमेकीहरूले भाडाको कोठामा यौन सम्पर्क राखिरहेको अवस्थामा रंगेहात भेटाएपछि तिनीहरूलाई गत नोभेम्बरमा पक्राउ गरिएको बताएका छन् ।

गतमहिना एउटा सरिया अदालतले तिनीहरूलाई जनही ८० कोर्रा हान्न आदेश दिएको थियो । तर, काराबास भुक्तानीलाई कटाएर तिनीहरूलाई ७७ कोर्रा मात्र हानिएको हो । सोही पार्कमा अन्य चार जनालाई विवाहेत्तर सम्बन्ध राखेबापत १७ र रक्सी सेवन गरेबापत ४० कोर्रा हानिएको थियो ।

सरियाका अनुसार समलिंगी यौनका लागि अधिकतम सजाय जनही १ सय कोर्रा हो । साथै, व्यभिचारी, जुवाडे, जँड्याहा, कस्सिएको पोसाक लगाउने महिला तथा शुक्रबारको नियमित प्रार्थना नगर्नेहरूलाई पनि सजायस्वरूप कोर्रा हान्ने गरिन्छ ।