काठमाडौंको तारेकेश्वरस्थित एक फार्ममा बर्ड फ्लु पुष्टि



न्युज अफ नेपाल , काठमाण्डौ –
काठमाडौंको तारेकेश्वर नगरपालिकामा बर्ड फ्लू देखिएको छ । तारेकेश्वरस्थित एउटा फार्ममा पालिएका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले बिज्ञप्तीमार्फत जनाएको हो ।

केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भेटिएको पुष्टि भएको हो । बिभागका अनुसार बर्ड फ्लू भेटिएको फार्म र आसपासका १ हजार ८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ ।

संबन्धित निकायसँग समन्वय गर्दै रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पंक्षि तथा रोग सार्न सक्ने अन्य बस्तु समेत नष्ट गरिएको बिभागले जनाएको छ । रोग निसंक्रमण गरेपछि जारी गरिएको बिज्ञप्तीमा बिभागले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरि भेटनरी प्रमाणपत्र लिएर गर्न÷गराउन आग्रह गरेको छ ।

यसैगरि फार्म परिसरमा जैबिक सुरक्षाका बिधिहरु अवलम्बन गर्न , फार्म परिसरमा नियमितरुपमा निसंक्रमण गर्न र अस्वभाविकरुपमा पंक्षी बिरामी परेको पाइए शिघ्र खबर गर्न पनि बिभागले आग्रह गरेको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लू रोग देखा परेपछि नेपालमा पनि पशुसेवा बिभागले सर्तकता बढाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्