नेपाल पत्रकार महासंघद्वारा शहीदहरुप्रति सम्मान व्यक्त


काठमाडौं । शहीद दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले सञ्चारग्राममा रहेको शहीद पत्रकार स्तम्भमा माल्यार्पण गर्दै शहीदहरुप्रति १ मिनेट मौनधारण गरी सम्मान व्यक्त गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शहीदहरुको योगदानकै कारण आज प्रेस स्वत्रताको अभ्यास गर्न पाएको भन्दै शहीदहरुप्रति सदैब सम्मान रहने धारणा राख्नुभयो । उहाँले थप लोकतान्त्रीक अधिकार प्राप्तीका लागि आगामी दिनमा शहीदहरुले मार्गनिर्देशन गर्ने बताउनुभयो ।प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासका लागि ज्ञात तथा अज्ञात शहीदको ठुलो योगदान रहेको बताउनुभयो ।

उहाँले सञ्चारग्राममा आउने सबै सेवाग्राहीलाई शहीद स्तम्भ देख्दा स्वतन्त्र र निस्पक्ष ढंगले जनताको अधिकारका लागि अघि बढ्न प्रेणित गर्ने बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पदाधिकारी एंव सदस्यहरु, प्रेस काउन्सिल नेपालका पदाधिकारी सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।