अमेरिकाले तिरस्कार गरेका वैज्ञानिकले अमेरिकाविरुद्धै खतरनाक हतियार बनाए

282
Shares

वासिङ्टन डीसी, (एजेन्सी)

‘क्वियान सुएसेन’ नामक एक महान् तथा कुशल चिनियाँ वैज्ञानिक नभइदिएको भए संयुक्त राज्य अमेरिकाले दोश्रो विश्वयुद्ध जित्ने थिएन न त चन्द्रमामा अन्तरिक्ष यान नै पठाउन सक्थ्यो । तर, युद्धपछि कम्युनिस्टको उपस्थिति रहने भयले अमेरिकाले क्वियानलाई चीनसमक्ष सुपुर्दगी गरिदिएको थियो ।

तर, त्यतिबेला अमेरिकाले सोही वैज्ञानिकले अमेरिकी फौजलक्षित कार्यक्रमहरूको नेतृत्व गर्ने सक्नेछन् तथा अन्ततः चीनलाई पनि अन्तरिक्षमा पु-याउनेछन् भनेर सोचेकै थिएन । उनको सन् १९११ मा चीनको एक सुशिक्षित परिवारमा जन्म भएको थियो । फलस्वरूप उनी सानै उमेरमा विलक्षण प्रतिभाका धनी हुन पुगे ।

चीनको ‘सांघाई जियाओ तोंग’ विश्वविद्यालयमा स्नातकमा प्रथम भएपछि उनले अमेरिकाको मास्साचुसेत्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा उच्च शिक्षाका लागि छात्रवृत्ति हासिल गरे । क्वियान सन् १९३५ मा बोस्टन आइपुगेका थिए । हंगेरियन एरोनटिकल इन्जिनियर थियोडर भोन काम्र्यानको रेखदेखमा अध्ययन गर्न उनी अन्ततः ‘क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी’मा पुगे ।

काम्र्यान त्यतिबेला विश्व चर्चित इन्जिनियर थिए । त्यहीँ क्वियान ‘सुसाइड स्क्वाड’ नामक आविष्कारकहरूको समूहको सदस्य बने । त्यो समूहको लक्ष्य क्याम्पसमा रकेट निर्माण गर्नु थियो । प्रज्वलनशील रासायनिक पदार्थहरूको प्रयोग परीक्षण कार्यमा संलग्न रहेकाले यो समूहले ठूलो नाम कमायो ।

दोश्रो विश्वयुद्ध शुरू हुनु केही समयअघि जेट प्रोपल्जन सिस्टमको अनुसन्धानमा लगानी गरिरहेका अमेरिकी सेनाको सुसाइड स्क्वाड माथि ध्यान गयो । सन् १९४३ मा भोन काम्र्यान र क्वियानको मातहतमा जेट प्रोपल्जन ल्याब स्थापना गरियो । त्यसबेला अमेरिकी गठबन्धनमा पर्ने गाणतन्त्र चीन (अहिलेको ताइवान) को नागरिक रहेका क्वियानलाई वर्गिकृत हातहतियार अनुसन्धानमा काम गर्न सुरक्षा स्वीकृति दिइयो ।

युद्धपछि उनी जेट प्रोपल्जनमा विश्वकै प्रभावशाली विशेषज्ञमध्ये एक बन्न सफल भए । उनी नाजी इन्जिनियरहरूबाट गोप्य दस्तावेजहरू संकलन गर्नका लागि लेफ्टिनेन्ट कर्णेलको हैसियतले जर्मनीतर्फ समेत उडेका थिए । दुर्भाग्यवश सन् १९४९ माओत्से तुंगले कम्युनिस्ट जनगणतन्त्र चीन स्थापना गरेपछि उनको अमेरिकी करियर डामाडोल हुन थाल्यो । त्यतिबेला चिनियाँ नागरिकहरु अमेरिकाका लागि खतरनाक मानिन थालियो ।

एफबीआईले क्वियानलाई सन् १९३८ मा कम्युनिस्टसँग सम्बन्ध राखेको आरोप लगायो । प्राप्त दस्तावेजले उनले पासाडेना कम्युनिस्ट पार्टीको सामाजिक भेलामा सहभागिता जनाएको पुष्टि ग-यो । चिनियाँ कम्युनिस्ट पार्टीका लागि जासुसी गरेको बलियो प्रमाण नभेटिए पनि उनलाई पाँच वर्षसम्म नजरबन्दी बनाइयो । अन्ततः सन् १९५५ मा अमेरिकी राष्ट्रपति आइसनआवरले उनलाई चीनसमक्ष सुपुर्दगी गरे ।

क्वियानले अमेरिकामा जन्मेका आफ्ना दुई सन्तान र पत्नीसँगै अमेरिका छाडे । उनले जिन्दगीमा फेरि कहिल्यै पनि अमेरिका नफर्कने वाचा गरे । सोही वैज्ञानिक चीनका लागि वरदान साबित भए । तर, अमेरिकाबाट आएकाले उनलाई एकैपटक चीनको कम्युनिस्ट पार्टी (सीसीपी) मा स्वागत भने गरिएन ।

तर, सन् १९५८ मा सीसीपीमा संलग्न गराएका उनी पछि केन्द्रीय समितिको सदस्यसमेत बने । त्यसको केही समयपछि उनले चीनको पहिलो भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण गराउने अभियानमा अहम् भूमिका निभाए । उनले नेतृत्व गरेका अन्य परियोजनाहरूले चीनको चन्द्रमाको अन्वेषण कार्यक्रमको जग बसाउन सफल भए । अमेरिकाका लागि ठूलो व्यंग्यात्मक झापड साबित हुनेगरी उनले एउटा क्षेप्यास्त्र कार्यक्रमलाई मद्दत गरे ।

उक्त कार्यक्रमको उद्देश्य अमेरिकामाथि मार हान्ने हतियारहरू उत्पादन गर्नु रहेको थियो । सोही कार्यक्रमअन्तर्गत उत्पादन गरिएका सिल्कवर्म क्षेप्यास्त्रहरू सन् १९९१ को खाडी युद्धमा अमेरिकामाथि प्रहार गरिएका थिए । साथै, ती क्षेप्यास्त्र सन् २०१६ मा यमनमा हुथी लडाकुहरूले अमेरिकी फौजविरुद्ध प्रहार गरेका थिए । क्वियानको ९८ वर्षको उमेरमा बेइजिंङमा निधन भएको थियो ।