स्थानीय तहमा शैक्षिक प्रोफाइल र शैक्षिक योजना

0
Shares

सल्यान, (नेस)

सल्यानका सबै स्थानीय तहले शैक्षिक प्रोफाइल र शैक्षिक योजना बनाउने भएका छन् । हालसम्मको विद्यमान अवस्थालाई बृहत्रूपमा समेटेर शैक्षिक प्रोफाइल बनाउने भएका हुन् । प्रोफाइल बनाएपछि पालिकाको शिक्षाको दीर्घकालीन लक्ष्य हासिल हुने गरी पालिका शिक्षा योजना बनाइने दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख शेरप्रसाद ढकालले बताउनुभयो ।

शिक्षा क्षेत्रमा स्थानीय तहले हासिल गरेका महत्वपूर्ण उपलब्धिलाई समेटेर विभिन्न शैक्षिक सूचकमा पालिकाको अवस्था झल्किने गरी पाश्र्वचित्र बनाउन लागिएको उहाँले बताउनुभयो । शारदा नगरपालिकामा शिक्षासँग सरोकार राख्ने सबैको सल्लाहबमोजिम योजना बनाउने र वार्षिकरूपमा कति लक्ष्य हासिल भयो भनेर लेखोजोखा गर्ने परिपाटीसमेत शारदा नगरपालिकाका शिक्षा शाखा प्रमुख लिलाधर बरालले बताउनुभयो ।

नेपाल सरकारले यसै आर्थिक वर्षदेखि सल्यान जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू गरेपछि कार्यक्रमअन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको आयोजनामा कार्यक्रम भएको हो । जिल्ला शिक्षा समिति सल्यानका अध्यक्ष तथा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केसबहादुर विष्टले जग बलियो भएमा शिक्षाको आधार बलियो हुने भएकोले प्रारम्भिक कक्षाको पढाइ सुधारका लागि स्थानीय तहले बनाउने नीति केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमले जिल्लामा एकीकृत पाठ्यक्रममा आधारित प्रारम्भिक पढाइ कार्यक्रमसम्बन्धी शिक्षक तालिम, स्थानीय तहको शिक्षा शाखाको प्रणाली सुधार, शिक्षकको पेसागत सहयोग तथा कोरोनाको समयमा शैक्षिक क्रियाकलापसम्बन्धी कार्यक्रम गरिरहेको छ ।