‘वर्तमान सरकार नै असंवैधानिक’

0
Shares

बुटवल, (नेस)

नेकपा दाहाल–नेपाल समूहका नेता वर्षमान पुन ‘अनन्त’ले केपी शर्मा ओली कानुनीरुपमा प्रधानमन्त्री नभएको दाबी गर्नुभएको छ ।प्रतिनिधिसभा विघटन भएको मान्ने हो भने ओलीजी प्रतिनिधिसभा सदस्य नै नभएपछि उहाँ कसरी प्रधानमन्त्री हुनुुभयो भनेर प्रश्न गर्नुुभयो ।

संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने उहाँको जिकिर छ ।
आदिवासी जनजाति महासंघ नेपाल, जिल्ला समन्वय समिति रुपन्देहीले आइतबार बुटवलमा गरेको समसामयिक राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले यस्तो कुरा बताउनुुुुभएको हो ।

संसद् विघटन गरेर चुनावको घोषणा गर्दा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र राष्ट्रपतिबाट चुनाव सम्पन्न गर्नका लागि कामचलाउ सरकारको रुपमा काम गर्न आग्रह गर्नुपर्नेमा त्यसो नगरिएकाले पनि वर्तमान सरकार अवैधानिक रहेको उहाँको तर्क छ ।

ओलीले प्रतिनिधिसभा विघटन गरेर आफ्नै कुर्ची र नेपाली जनतामाथि घात गरेको उहाँको भनाइ छ । प्रतिनिधि सभा विघटन गरेर ओली नेतृत्वले संघीयता, धर्मनिरपेक्षता, समावेशितालाई खोस्न खोजेको पुनको आरोप छ । संसद् विघटन राष्ट्रिय÷अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर गरिएको समेत उहाँको भनाइ छ ।

वैशाखमा निर्वाचन पनि नहुने भन्दै नेता पुनले संसद् विघटन गर्न लगाउने शक्तिले वैशाखपछि प्रधानमन्त्री ओलीलाई कामचलाउ प्रधानमन्त्रीको हैसियतबाट समेत निकाल्ने ठोकुुवा गर्नुभयो । नेकपा दाहाल निकट मानिने नेता पुनले प्रधानमन्त्रीले आलोचना र टिप्पणी सुन्नसमेत नचाहेको भन्दै आक्रोश पोख्नुुभयो ।