राष्ट्रपति बाइडेनले शपथग्रहणसँगै पारमाणविक ‘फुटबल’ को जिम्मा लिँदै


वासिङ्टन, (एजेन्सी)

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोय बाइडेनले बुधबार पदीय शपथग्रहण गर्नासाथ पारमाणविक ‘फुटबल’ पनि ग्रहण गर्ने कार्यक्रम रहेको छ । मुलुकको बृहत् पारमाणविक हातहतियार भण्डारमाथिको आदेश र नियन्त्रणका लागि प्रयोग हुने अनौठो आकारको तथा ४५ पाउन्ड वजनको सो ब्रिफकेस सदैव राष्ट्रपतिको छेउमा रहने गर्दछ ।

यो ब्रिफकेस हस्तान्तरण कार्यक्रमको दौरानमा राष्ट्रपतिसँगै एकजना सैनिक सहयोगी ब्रिफकेस लिएर उभिनेछन् । ती सैनिक कमान्ड र कन्ट्रोलको कुशल पूर्व–अभ्यासको कोरियाग्राफीका लागि तयारी अवस्थामा रहनेछन् । स्मिथसोनियन पत्रिकाका अनुसार औपचारिक रूपमा पेसिडेन्टस इमर्जेन्सी साच्यल अर्थात् ‘राष्ट्रपतिको आपतकालीन स्कुले झोला’ को रूपमा चिनिने यसलाई कालो छालाले मोडिएको बलियो एल्मुन्नियम फ्रेमभित्र राखिएको हुन्छ ।

तर, पत्रिकाले जनाएअनुसार चलचित्रहरूमा देखाइनेजस्तै पारमाणविक युद्ध शुरू भएको घोषणा गर्ने उद्देश्यले थिच्न त्यहाँ रातो रंगको बटन भने हुँदैन । अमेरिकी ऐतिहासिक परम्पराअनुसार सदैव यो झोला सत्ताबाट बाहिरिन लागेका राष्ट्रपतिले भर्खरै शपथग्रहण गरेका नयाँ राष्ट्रपतिलाई बुझाउने गरेका छन् ।

तर, पहिलोपटक अर्थात् यसपालि डोनाल्ड ट्रम्पले यो झोला जोय बाइडेनलाई हस्तान्तरण नगर्ने भएका छन् । वासिङ्टन डीसीमा बाइडेनको शपथग्रहण कार्यक्रम चलिरहँदा ट्रम्पको फ्लोरिडामा रहने योजना भएकाले पारमाणविक ‘फुटबल’ हस्तान्तरण कार्यक्रममा पनि परिवर्तन आउने भएको छ । कार्यरत अमेरिकी राष्ट्रपतिले आफ्नो उत्तराधिकारीको कार्यभार उद्घाटन समारोहमा भाग नलिइएको पनि पारमाणविक युगको यो पहिलो घटना नै हुने भएको छ ।

एकजना अमेरिकी वरिष्ठ अधिकारीका अनुसार एउटा त्यस्तै फुटबलसहित एक सैनिक अधिकृत ट्रम्पसँगै फ्लोरिडा जानेछन् । ट्रम्पसँग बुधबारको राति ११ बजेर ५९ मिनेट र ५९ सेकेन्डसम्म पारमाणविक आक्रमण गर्ने एकल अधिकार रहनेछ । भौतिकरूपमा ट्रम्प वासिङ्टनबाहिर रहे पनि उनीसँग त्यो अधिकार रहने बताइएको छ ।

अर्का सैनिक सहयोगीले शपथग्रहणको क्रममा बाइडेनलाई दोश्रो परमाणविक बल प्रदान गरेपछि ट्रम्पको साथमा रहेका सैनिकले फुटबल वासिङ्टनमा फिर्ता ल्याउने बताइएको छ । तर, ह्वाइट हाउसले भने सुरक्षाको कारण देखाउँदै फुटबल हस्तान्तरणबारे केही बताउन अस्वीकार गरेको छ । सन् २०१३ मा डिस्कभरी च्यानलले निर्माण गरेको वृत्तचित्रमार्फत पूर्वउप–राष्ट्रपति डिक चेनीले प्रायशः गोप्य नै राखिने गरेको पारमाणविक फुटबलबारे पहिलोपटक खुलासा गरेका थिए ।