१३ लाख बढी आप्रवासीले बेलायत छाडे

28
Shares

सञ्जयभक्त कँडेल, बेलायत ।

दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी आप्रवासीले एकैसाथ बेलायत छोडेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी आप्रवासीले एकैसाथ बेलायत छोडेका पहिलोपटक भएको बेलायती गृह मन्त्रालयले जनाएको छ । लन्डनबाट मात्रै ७ लाख आप्रवासी आफ्नो देश फर्किएका छन् भने हालैको बसाइँसराइ गतिविधिले लन्डनको जनसंख्या आठ प्रतिशतले घटेको छ ।

कोभिड–१९ महामारी र ब्रेक्जिटले निम्त्याएको अप्ठ्यारो अवस्था नै यसको मुख्य कारण भएको बेलायती गृह मन्त्रालयका उच्च अधिकारीहरुको अनुमान रहेको छ । आप्रवासीलाई अनुगमन गर्ने माइग्रेसन वाच यूकेका अनुसार बेलायतको कडा बसाइँसराइसम्बन्धी नीतिका कारण आउने दिनहरुमा बेलायती अर्थतन्त्रलाई सन्तुलित पार्न चाहिने आवश्यक कामदारहरुको आपूर्तिमा समस्या आउने देखिन्छ ।

सर्वप्रथम यूके गृह मन्त्रालयले बसाइँसराइ नीतिलाई खुकुलो बनाउनु नै ब्रेक्जिटबाट आउने विचलनलाई रोक्नु रहेको यस क्षेत्रका विज्ञहरुको राय रहेको छ । पछिल्लो जनगणनालाई आधार मान्दा बेलायतको जनसंख्या ६६ दशमलव ६५ मिलियन रहेको छ ।

सन् २००१ देखि सन् २०११ को बीचमा मात्रै ७ दशमलव ५ मिलियन बेलायतभन्दा बाहिर जन्मिएका मानिसहरु बसाइँ सरेर आएको तथ्यांकले देखाउँछ । नेसनल अडिट यूकेको कार्यालय अनुसार ६ लाख ६० हजार कागजपत्र नभएका अवैधानिक आप्रवासी रहे पनि विभिन्न कारणले यो जनसंख्या एक मिलियनभन्दा बढी रहेको सम्बन्धित क्षेत्रका विज्ञको अनुमान छ ।

बेलायतमा कोरोनाका कारण मात्रै ९० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने लगभग ३५ लाख मानिसहरु कोभिड पोजेटिभ प्रमाणित भएका छन् । हस्पिटालिटी र आप्रवासीलाई पढाउन खुला गरिएका विश्वविद्यालयलगायत धेरैजसो क्षेत्रको व्यावसायिक अवस्था दयनीय छ भने यहाँको नेसनल हेल्थ सर्भिसले पनि बिरामीको भार अस्पतालहरुमा थेग्न नसक्ने गरी ह्वात्तै बढेपछि अत्यावश्यक अवस्थाबाहेक घरमै वसेर सुरक्षित रहन आग्रह गरेको छ ।