अमेरिका र ईयूद्वारा नाभाल्नीको रिहाइ माग


मस्को, (एजेन्सी)

संयुक्त राज्य अमेरिका र अन्य थुप्रै युरोपेली सरकारले रुसका विपक्षी राजनीतिज्ञ एलेक्सेई नाभाल्नीलाई रुसी हिरासत मुक्तिका लागि एकै स्वरमा सोमबार आह्वान गरेका छन् । ४४ वर्षीय नाभाल्नीलाई आइतबार जर्मनीको उडानबाट रुसको राजधानी मस्को आइपुग्नेबित्तिकै प्रहरीले हिरासतमा लिएको थियो ।

स्नायु प्रणालीलाई क्षति पु-याउने विषाक्त वस्तुको आक्रमणमा झन्डै ज्यान गुमाउन पुगेका अभियन्ता नाभाल्नी पाँच महिनापछि जर्मनीबाट स्वदेश फर्केका हुन् । उनीमाथि भएको विष आक्रमण पछाडि रुसी सरकारको हात भएको आरोप लगाइएको थियो ।
तर, राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारले उनलाई विष नदिएको दाबी गरेका थिए । अनुसन्धानात्मक पत्रकारहरूले समेत विपक्षी राजनीतिज्ञको आरोपलाई समर्थन गरेका थिए । राष्ट्रपति पुटिनका कटर आलोचकको रूपमा चिनिने नाभाल्नीको गिरफतारीलाई लिएर अमेरिका र युरोपेली संघ (ईयू)ले आपत्ति जनाउनुका साथै उनलाई अन्य कुनै पनि अनुशासनसम्बन्धी कारबाही गर्ने चेतावनीसमेत नदिन रुसी सरकारसँग आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले रुसी सरकारले आफ््ना विरोधीहरूका मुख थुन्ने प्रयास गर्दै आएको बताएका छन् ।

उनले नाभाल्नीको बिना शर्त तत्काल रिहाइको माग गरेका छन् । यसैगरी, अमेरिकी नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनका आगामी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभानले पनि क्रेमलिनले नाभाल्नीलाई आक्रमण गरी मानव अधिकार उल्लंघन गरेको मात्र नभई आफ्नो आवाज सुनोस् भन्ने चाहने रुसी जनताको अधिकार खोसेको प्रतिक्रिया दिएका छन् ।