निर्वाचनको तयारीमा जुट्न ओलीको निर्देशन

0
Shares

काठमाडौं, (नेस)

प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाखमा आमनिर्वाचनको घोषणा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुलाई चुनावको माहोल बनाउनेतर्फ लाग्न निर्देशन दिनुभएको छ । उहाँले चुनावको वातावरण र माहोल बनाउन आफूनिकट स्थायी कमिटीका सदस्यहरुलाई निर्देशन दिनुभएको हो ।

संसद् विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग जानकारी लिनुभएको थियो । जवाफमा नेम्वाङले रिटमाथि सर्वोच्चमा भइरहेको बहस र निर्वाचन आयोगलाई दोस्रोपटक लेखिएको जवाफपत्रको अन्तर्वस्तुबारे जानकारी गराउनुभएकोे एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

ती स्थायी कमिटीका सदस्यका अनुसार प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्यहरु र मन्त्रीहरुलाई घोषणापत्र लेखनदेखि निर्वाचन परिचालनको योजना बनाउनेतिर लाग्न निर्देशन दिनुभयो ।