सर्वोच्चको ठहर : तीन महापुरुषको अनुहार मिलेन


विकास भट्टराई, काठमाडौं

राजधानीको मुटु मानिने भूगोलपार्कमा स्थापना गर्न लागिएको पूर्वराजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त आचार्य र रथचक्र ललित ज्यापूको मूर्ति हाल प्रतिस्थापन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

ती तीन महापुरुषको पुरानो मूर्तिसँग हाल बनाउन खोजिएको मूर्ति नमिल्दो देखिएको आशय व्यक्त गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले हाल ती मूर्तिलाई प्रतिस्थापन नगर्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौं महानगरपालिका–२२ स्थित भूगोलपार्क सुधार समितिको २०७५ साल माघ २ गते बैठकले भूगोलपार्कमा रातो मत्स्येन्द्रनाथलाई लिन गएका भनिएका टोलीसहितको महामञ्जुश्रीको मूर्तिसमेत राख्ने निर्णय गरेको थियो । सो मूर्ति राख्न सांसद विकास कोष र महानगरपालिकाको खर्चमा गर्ने भनी निर्णय भएको थियो ।

ती तीन महामानवको पुरानो मूर्ति हेर्दा हाल स्थापना गर्न लागिएको मूर्ति वास्तविक नभएको दाबी गरी अधिवक्ता पदमबहादुर श्रेष्ठ र रामेछापका मदनकुमार कर्माचार्यले संयुक्तरुपमा रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा टोल सुधार समितिको निर्णय सम्पदा संरक्षण र प्राचीन सम्पदा संरक्षण ऐन, २०१३ विरुद्ध रहेको उल्लेख गरिएको छ ।

रिट निवेदनमा भनिएको छ– ‘गोपालराज वंशावलीअनुसार बन्धुदत्त ‘आचार्य’ हुन् । के बौद्घ, के शैव, कर्म विशेषले सारा लोकको मन जितेका हुनाले नै उनी ‘आचार्य’ बन्धुदत्त भनी लोकजीवनमा, नेपाली राष्ट्रिय जीवनमा लोकप्रिय रही आएका हुन् । उनै आचार्य बन्धुदत्तको नाम मात्रैले पनि हामीलाई उनको मात्र नभएर तत्कालीन राजा नरेन्द्रदेव र ललित ज्यापूको पनि एकसाथ स्मरण हुन्छ । देशबासीलाई अनिकाल र महामारीबाट मुक्त गरी सहकाल, सुस्वास्थ्य र समृद्घि ल्याउन कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याई प्रतिष्ठापन गरेको कुरा पनि स्मरण हुृन्छ ।’

ललितपुर तःबहालको मत्स्येन्द्रनाथको मन्दिर परिसरमा यी तीन व्यक्तित्वको संयुक्तरुपको मूर्ति रहेको छ । रिट निवेदनमा यो मन्दिरमा भएको मूर्तिको रुप फेरिने गरी भूगोल पार्कमा मूर्ति प्रतिस्थापन गर्न लागिएको उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतले यही पुस २९ गतेसम्म ती तीन मूर्ति प्रतिस्थापन नगर्न आदेश दिएको र सो दिन सो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा सरकार र रिट निवेदकबीच छलफल गर्न पनि आदेश दिएको छ ।