कोरोनाले ठूलो आर्थिक तथा मानवीय क्षति


भगवती तिमल्सिना, काठमाडौं

कोरोना संक्रमणले विश्वव्यापीरुपमा ठूलो आर्थिक र मानवीय क्षति पु¥याएको छ । विश्वमा हालसम्म आठ करोड ८९ लाख ६९ हजार ३ सय ८६ संक्रमित भएका छन् भने निको हुनेको संख्या ४ करोड ९४ लाख ८९ हजार ५ सय ४५ र मृत्यु हुनेको संख्या १९ लाख १५ हजार ५ सय ४० जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६२ जना संक्रमित भए भने ३ जनाको मृत्यु भएको छ । नेपालमा झन्डै एक वर्षको अवधिमा कुल संक्रमित २ लाख ६४ हजार ५ सय २१ जना रहेका छन् भने कुल मृत्यु १ हजार ९ सय १२ रहेको छ । क्वारेन्टाइनमा २ सय ६२ जना रहेका छन् । त्यसैगरी निको हुनेमा २ लाख ५७ हजार ९ सय २८ अर्थात् ९७ दशमलव ५ प्रतिशत रहेको छ ।

नेपालमा शुरुको चरणमा अत्यन्तै सावधानी अपनाउनुका साथै सरकारले नेपालमा रहेका नागरिकलाई घरभित्रै थुन्नुका साथै विदेशबाट नेपाल प्रवेश गर्नेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै कडा निगरानी गर्नुका साथै सरकारले नै व्यवस्था गरिएको क्वारेन्टाइन सेन्टरमा राखी विशेष सुरक्षा अपनाई पीसीआर परीक्षण ग¥यो ।

यो सकारात्मक पक्ष भएको र पछिल्लो केही महिनादेखि सरकार कोरोना संक्रमणको न्यूनीकरणमा भन्दा राजनीतिक उतारचढावमा अल्मलिएका कारण कोरोना संक्रमण र परीक्षणलाई बेवास्ता गरेको विज्ञहरुको ठम्याइ छ ।

निरन्तर विशेष निगरानी अपनाएकै कारण भुटानमा एक वर्षको अवधिमा जम्मा ७ सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ भने बिहीबार पहिलो कोरोनाका कारण एक जनाको मृत्यु भएको भुटानी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पहिलादेखि नै कलेजो र मिर्गौलाको समस्याबाट पीडित ३४ वर्षीय एक पुरुषको डिसेम्बर २१ मा कोरोना पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।

लामो समयदेखि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनले नै उत्पादन गरेको भन्ने आरोप लगाउनुका साथै विश्व स्वास्थ्य संगठनले समेत चीनसँग मिलेर यो भाइरस फैलाउन मदत गरेको आरोप लगाउँदै आएका थिए । कोरोनाको उत्पत्तिस्थल चीनमा विश्व स्वास्थ्य संगठनलाई अनुसन्धानका लागि अनुमति दिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो। तर विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो ।

शनिबार चीनले ती अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानका लागि अनुमति दिइएको जनाएको छ । चीनको वुहान शहरमा कोभिडको भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो । तर चीन सरकारले दिएको थिएन । शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन् ।

उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरुलाई यस विषयमा अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरुको आगमन हुने बताइएकोले चीनले उनीहरुको स्वागत गर्नेछ ।

चीनको नेसनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले सो कुराको जानकारी दिएका हुन् । उनले ती अधिकारीहरुले चीनमा कोभिड १९ को उत्पत्तिको बारेमा गर्ने अनुसन्धानमा पूर्णरुपमा सघाउन चीन तयार रहेको बताए ।

चेनले भने– ‘विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुले यस अनुसन्धानका विषयमा उनीहरुको कार्यक्रम र कार्य सूची केकस्तो छ भन्ने बारेमा हामीलाई थाहा दिएपछि उनीहरुसँगै हाम्रा अनुसन्धान अधिकारीहरु पनि वुहान जान तयार छन् ।’

यस अनुसन्धानमा आफूहरुले आवश्यक सहयोग गर्ने र उनीहरुको कार्यक्रमअनुसार नै आफ्ना अनुसन्धान अधिकारीहरु वुहान जाने पनि चीनका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन् ।