‘प्रदेश संरचना संघीयताको मुटु’


विराटनगर, (नेस)
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताउनुभएको छ । केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भए पनि प्रदेश संरचना नयाँ भएको उहाँले बताउनुभयो ।
आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बिहीबार मन्त्रालय पुग्नुभएका मुख्यमन्त्री राईले प्रदेश १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि संघीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताउनुभयो । प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चले पनि दोस्रो वर्षको अन्त्यदेखि समस्या देखिँदै गएको आफूले पाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो– ‘चालू आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो । प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ ।’
समस्या पहिचान भएकाले उपचारको प्रक्रिया शुरु भइसकेको मुख्यमन्त्री राईको भनाइ छ । उहाँले भन्नुभयो– ‘मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनुभएको छ ।’ मुटुको सफल उपचारपछि सरकारलाई गतिशील बनाउने उहाँले बताउनुभयो । क्रोनिक एकैपटक देखानपरेको मुख्यमन्त्री राईको भनाइ छ । आर्थिक मामिला मन्त्रालय कसका कारण यो अवस्थामा आइपुग्यो भन्ने सबै रिपोर्टिङ आफूले पाएको उहाँले बताउनुभयो । प्रदेश सरकारले सही र यथार्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएको बारे विभागीय मन्त्रीलाई पटक–पटक सचेत गराएको मुख्यमन्त्री राईले बताउनुभयो ।
आफू नेतृत्वको सरकार अघि बढ्ने बताउँदै उहाँले भन्नुभयो– ‘कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला ।’ उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई उहाँको आग्रह छ । मुख्यमन्त्री राईले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अघि बढेको भन्दै यही पुस ११ गते आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोलाई पदबाट बर्खास्त गर्नुभएको थियो ।