लक्ष्मी बैंकले थुलुङ गापमा सहुलियत कर्जा प्रवाह गर्ने


काठमाडौं, (नेस)
लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअन्तर्गत सो गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारीलगायत अन्य संघसंस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख िदपेश अमात्य तथा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले गाउँपालिकाहरुमा कृषि तथा पर्यटनलगायत सम्भाव्यता बोकेका क्षेत्रहरुमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा व्यक्त गर्नुभयो ।

यस सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा बैंकको छ ।