पराकाष्ठामा पुगेको महिला हिंसा


  • डिल्लीराम मिश्र ‘श्रमजीवी’

यौनजन्य अपराध र महिला घरेलु हिंसाका घटनाहरू आज यति तीव्र गतिमा बढेका छन्, जुन विषय सचेत नागरिकहरूको कल्पनाभन्दा पनि पर पुगेको छ । अझ भनौं मानिसले कल्पनासम्म नगरेका घटनाहरू पनि घटेका छन् । अशिक्षा, गरिबी र चेतनाको अभावको कारणबाट समेत महिला हिंसामा बल पुगेको छ । कसैको शरीर कब्जामा लिएर जबर्जस्ती गर्दाको दर्दनात्मक पीडा भोग्ने मानिसलाई मात्र थाहा हुन्छ । समाजमा बलात्कारी र अपराधीहरू दिनप्रतिदिन एउटा कारखानाको शैलीमा किन यसरी उत्पादन भैरहेका छन् भन्ने बारे बुझ्नको लागि अपराधी कस्तो सामाजिक परिवेशमा हुर्केको छ भन्ने तथ्य बुझ्नु जरुरी छ । बलात्कारका यस्ता आपराधिक घटनाहरू घट्ने गर्छन्, जसबाट समाजमा आउने विचलनले मानिसलाई सामाजिक रोगी बनाउँछ । पितृसत्तात्मक चिन्तनले महिलामाथि हुने दमन र यातनाको शृङ्खला एक प्रकारको हेपाहा प्रवृत्ति हो । हेपाहा प्रवृत्ति समाजदेखि राजनीतिक दलसम्म सर्वत्र फैलिएको छ, तर योचाँही पाशविक प्रवृत्ति हो ।

अहिले समाजमा परिवर्तनको नाउँमा मानिस छाडा भएका छन् । सामाजिक सञ्जाल र फेसबुकको गलत प्रयोगबाट समाजमा हत्या, हिंसा र बलात्कारका घटनाले उग्ररुप लिएको छ । मानिसमा दया र करुणाभाव चिन्तन हराएको छ । आज धेरै मानिस हिंश्रक पशुजस्ता भैसकेका छन् । घरभित्रै बाबुले छोरीलाई बलात्कार गर्ने समाज विगतमा थिएन । अहिले घरमा बाबुले छोरीलाई, छोराले आमालाई र दाजुले बहिनीलाई बलात्कार गर्ने घटनाको विकास सामान्यजस्तो भएको छ, जुन सुन्दामात्र पनि आङ सिरिङ्ग हुन्छ । यो पशुत्वको प्रवृत्ति समाजमा दिनानुदिन बढ्दै गएको छ ।

महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गर्नेदेखि घरमै बन्धक बनाएर आफ्ना काका, ससुरा, देवर जेठाजुले पटकपटक बलात्कार गरेका घटनाहरू जताततै देख्न र सुन्न पाइन्छ । छोरीमात्र जन्माएकै कारण पति, सासू, ससुरा र नन्द मिलेर एउटा महिलामाथि चरम मानसिक र शारीरिक यातना दिई हत्या गरेको शृङ्खला पनि नेपाली समाजले देखे÷भोगेका दर्दनात्मक अवस्था हुन् । आफ्नै सासू, ससुरा, पति र देवरलगायतकाले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भन्ने कुरा कल्पनासम्म पनि गर्न सकिन्न, तर गत असोजमा बझाङमा यस्तै घटना भएको छ ।

आफ्नै पति, सासू, ससुरा र घरका सबै सदस्यमा मानवता हराएपछि राक्षसी प्रवृत्तिको विकास हुँदा २१ वर्षीया युवतीमाथि बर्बर यौन हिंसा भएको देखियो । ती युवतीको विक्षिप्त पीडा थियो– ‘घरका सबै पापीहरू लागेर मलाई बलात्कार गरे, आफूले मात्र नपुगेर बाहिरका मान्छेलाई पनि बोलाएर उस्तै गर्न लगाए ।’ उनले पानीसम्म त खान देओ भन्दा पनि दिएनन्, उल्टै सबैले मुखमा पिसाब फेरिदिए ।

कति हृदयविदायक छन्, यी आवाजहरू ? यहाँसम्म कि नन्द र सासूले हातखुट्टा समात्ने र ससुरालगायत अरुले पालैपालो बलात्कार गर्ने यो चरम यातना एउटा राक्षसी रुप थियो । ती युवतीमाथि २०७६ साल मङ्सिरदेखि बलात्कार र घरेलु हिंसाको शृङखला शुरु भएको रहेछ । तर एक वर्षजतिको चरम यातनापछि २०७७ असोजको दोस्रो साता यो घटना सञ्चारमाध्यम र छापाहरुमा छताछुल्ल भएको हो । एक वर्षसम्म आपूmले भोगेको चरम यातना र शृङ्खलाबद्ध बलात्कारको कारुणिक पीडा बझाङ जिल्ला अस्पतालमा उपचारको क्रममा सुनाउँदै गर्दा नजिकै बसेर ती युवतीको यो हालत हेरिरहेकी र उनीमाथि भएको निर्मम अत्याचारबारे जानकार एक नर्स आखाँभरि आँसु पार्दै डाक्टर बोलाउन गएको घटना झनै दर्दनाक छ ।

एक सचेत भारतीय नागरिकको सहयोगमा ती युवती नेपाल आएकी हुन् । प्रहरीले पीडितका पतिलाई पक्राउ गरेको छ । उनले अपराध स्वीकार गरिसकेका र यसबारेमा थप अनुसन्धान भैरहेको छ । अभियुक्तका रुपमा रहेका पीडित युवतीका सासू, ससुरा, नन्द र नन्दका पतिका बारेमा समेत अनुसन्धान भैरहेको छ । ती युवतीको यस्तो बीभत्स घटनालाई भारतको नयाँ दिल्लीमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनासँग तुलना गर्न सम्भव छ ।

सन् २०१२ डिसेम्बर १६ तारिखको राति ९ बजे भारतस्थित नयाँ दिल्लीमा बसमा यात्रा गरिरहेकी एक युवतीलाई चालकसहित उक्त बसमा रहेका ६ जनाले सामूहिक बलात्कार गरेपछि पीडित युवतीलाई गुडिरहेको बसबाट सडकमा फ्याँकिदिएका थिए । अपराधीले गाडीको चक्का फेर्ने लिभर पीडितको यौनाङ्गमा प्रवेश गराएर पेटको भित्री अङ्गसमेत निकालिदिएका थिए । दुर्भाग्य, ती पीडित युवतीलाई उपचारका लागि सिंगापुर लगिए पनि १३ औं दिनमा उनको निधन भयो । यस घटनाले भारतलगायत विश्वकै ध्यानाकर्षण गरेको थियो । कन्चनपुरकी निर्मला पन्त र बझाङ बुङ्गल नगरपालिकाकी एक युवतीमाथिको बलात्कार घटना पनि यस्तै पीडादायी थियो ।

विशेष गरी नेपालको तराई क्षेत्रमा विवाहमा दाइजो नल्याएको घटनालाई निहुँ बनाएर निर्दोष महिलाहरूलाई जिउँदै जलाएर हत्या गरिएका दर्जनौं घटना छन् । २१ औं शताब्दीमा रुढिवादी परम्परा र अन्धविश्वाससँग जोडेर बोक्सीको नाउँमा कुटपिट गरी हत्या गर्ने एवम् मलमूत्र खुवाएर समाजलाई कुरुप बनाउने संस्कारको विकास तराई क्षेत्रमा उग्रशैलीमा भएको छ । जहाँको समाजमा अशिक्षा, गरिबी र चेतनाको स्तर शून्य छ त्यहाँ यस्ता घटना बराबर भैरहन्छन् । अर्कोतर्फ समाजमा अनैतिकरुपमा भएको शारीरिक सम्बन्ध लुकाउनको लागि पनि हत्या हुने गरेका छन्, जसले यौनजन्य सम्बन्धसँग सरोकार राख्छ ।

गत असोजमा राजविराजमा एउटा यस्तै घटनाको पुनरावृत्ति भएको छ । आफ्ना पति घरबाहिर रहेका छोरा–बुहारीलाई भेट्न जाँदा ५० वर्षीया दायमनदेवी यादव घरमा एक्लै थिइन् । घरमा एक्लै रहेकी ती महिलाबाट आफ्नै देउरानीको परपुरुषसँग भएको अनैतिक यौनसम्बन्ध सार्वजनिक हुने त्रासबाट उनका सम्पर्कमा रहेका अपराधी व्यक्तिले दायमनदेवीको बीभत्स हत्या गरेका हुन् । विशेष गरी मधेसी क्षेत्रमा यस्ता दर्जनौं बीभत्स घटना भएका छन् । बलात्कारीलाई मृत्युदण्डको सजाय नभईकन बलात्कारका यस्ता घटना रोकिँदैन भन्ने पक्षमा सङ्घीय संसद्मा महिला सांसदहरूले आवाज बुलन्द गरेका छन् ।

सरकारले बलात्कारसँग सम्बन्धित यस्ता पाशविक क्रियाकलापलाई रोक्न नखोज्दा अपराधीलाई खुलेआम प्रोत्साहन मिलेको छ । एक वर्षअघि आफ्नै श्रीमतीलाई टुक्राटुक्रा पारेर हत्या गर्ने डीआईजी रञ्जन कोइरालालाई आजीवन कारावास सजाय तोकिएको भए पनि आर्थिक चलखेलका कारण आठ वर्षमै छोडिन्छ । आज अदालतबाट पनि न्याय मरेको अनुभव आमजनताले गरेका छन् ।

देशमा महिला राष्ट्रपति छन् तर उनकै शासनकालमा सबैभन्दा बढी बलात्कार र हत्या–हिंसाका घटना भैरहेका छन् । सात वर्षकी अबोध बालिकादेखि ७० वर्षकी महिलासमेत बलात्कार र हत्याको तारो बनेका छन् । निर्मला पन्तदेखि सम्झना कामी हुँदै रौतहटकी १४ वर्षीया बालिका सञ्जाकुमारी साहसम्म आइपुग्दा दर्जन बालिकाहरूको बलात्कारपछि क्रुर हत्या भएको छ । समाजमा बलात्कारका घटनाहरू फरक–फरक भए पनि दर्दनात्मक पीडा भने एउटै हुन्छ । गत असोजमा रौतहटमा आफ्नै छोरीकी साथीलाई बलात्कारपछि हत्या गरेको घटना सार्वजनिक भएको छ ।

वृन्दावन नपाका ४५ वर्षीय चुनु साहले १४ वर्षीय सञ्जाकुमारी साहको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दिउँसो उखुबारीमा घाँस लिन गएकी सञ्जाकुमारीलाई चुनु साहले बलात्कार गरेको र बेहोस भएपछि घाँटी थिचेर हत्या गरेको कुरा हत्याराले प्रहरीसमक्ष स्वीकार गरेका छन् । बालिकाको शव स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएको थियो । आफ्नै छोरीको केटी साथी साथीको घरमा आउँदा समेत उनीप्रति बाबुको कुदृष्टि पर्न जाँदा एउटी बालिकाको बलात्कारपछि हत्या हुन पुग्छ, जसलाई पत्याउनै सकिँदैन तर रौतहटमा यस्तै भयो ।

जन्म र मृत्यु शाश्वत सत्य हो, जुन अपठित मानिसलाई पनि थाहा छ । मानिस जन्मन कति कठिन छ, जन्मेपछि उसको लालनपालन, शिक्षादीक्षालगायत यावत् समस्या र कठिनाइ पार गरेर यौवन अवस्थासम्म आइपुग्दा कति लगानी गर्नुपर्छ ? बाबुआमालाई आफ्ना सन्तान हुर्काउन र योग्य नागरिक बनाउन कति कठिन हुन्छ ? यसमा राज्यको लगानी पनि मिसिएको हुन्छ । तर राक्षसी र पापी वृत्तिका नरपिपासुहरूले हाम्रा छोरी–बुहारीहरुलाई घरेलु हिंसा र बलात्कारपछि कति सजिलैसँग ज्यान मार्ने काम गरेका छन् । आज समाजमा कसैप्रति कसैको विश्वास छैन ।

यसविरुद्ध राज्य पनि कठोर बन्न सकेको छैन । मान्छे मारेर हुन्छ या त अरु कुनै उपायबाट हुन्छ, उसलाई जसरी भए पनि पैसा चाहिएको छ । महिलाको कारणबाटै पनि आज महिलाहरू बढी असुरक्षित भएका छन् । हत्याको तानाबाना बुन्ने काम ती कठोर आत्मा भएका पुरुष वर्गबाट हुँदै आएको छ । पैसाको आडमा मानिसको हत्या गर्ने योजनाको विकास प्रारम्भ भएको छ । त्यसैले कठोरता सृष्टिको नियमको प्रतिकूल र नम्रता यस नियमको अनुकूल छ । संसारका मानवजातिमा कठोर हृदय भएका मानिसहरूभन्दा नरम स्वभावका मानिसहरू बढी लोकप्रिय एवम् सहनशील सुशील भएको पाइन्छ ।

देशमा आज जे–जति हत्या, हिंसा र बलात्कार भएको छन् ती सबै कठोर हृदय भएका नरपशुहरूबाट भएका छन्, जसमा कुनै प्रकारको दयाभाव र करुणा भावको अलिकति पनि अंश भेटिँदैन । यस कारण कठोर हृदय भएका पुरुषहरूबाट समाजमा यावत् प्रकारका घरेलु हिंसाहरू हुने गरेका छन् । कुनै पनि बलात्कारको घटना सबैभन्दा बढी पीडादायी सामाजिक अपराध हो, जो हत्याभन्दा पनि बढी डरलाग्दो हुन्छ । यसलाई नियन्त्रण गर्न सरकारद्वारा कडाभन्दा कडा कानुनी शासन लागू गर्नु निःसन्देह पनि समाज र राष्ट्रको हितमा हुनेछ ।