‘प्रदेश सभा विघटन हुन सक्छ’

लुम्बिनी प्रदेश सरकार सुरक्षित


विराटनगर, (नेस)

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुन सक्ने बताउनुभएको छ । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुनअनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताउनुभएको हो ।

पूर्वकानुनमन्त्रीसमेत रहनुभएकी तुम्बाहाङ्फेले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार भने प्रदेशमा रहेको बताउनुभयो । उहाँले सरकारले तोकेकै मितिमा निर्वाचन हुने दाबी गर्नुभयो । ताजा जनादेशका लागि सरकारले निर्णय गरेको मितिमा निर्वाचन हुने उहाँले बताउनुभएको हो ।

आगामी वैशाखमा निर्वाचन गराउन सरकारले आर्थिक व्यवस्थादेखि सुरक्षा अवस्थालाई थप व्यवस्थित गर्न थालेको उहाँको भनाइ थियो । निर्वाचन आयोगले समेत निर्वाचनका लागि तयारी शुरु गरिसकेकाले तोकिएको मितिमा निर्वाचन हुुनेमा ढुक्क रहन सवैलाई उहाँले आग्रह गर्नुुभयो ।

सरकारलाई आफ्नै पार्टीभित्रबाट काम गर्न नदिने र घेराबन्दीमा पार्न खोजेका कारण प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको भन्दै मन्त्री तुम्बाहाङ्फेले ताजा जनादेशले मुलुकलाई राजनीतिक निकास दिने धारणा राख्नुभयो ।

पार्टी विभाजनमा विदेशी शक्तिको हात नरहेको भन्दै मन्त्री तुम्बाहाङ्फेले नेकपा फुट्ने र जुट्ने विषयमा कुनै विदेशी शक्तिको आग्रह पूर्वाग्रह काम नलाग्ने स्पष्टसमेत पार्नुभयो ।

लुम्बिनी प्रदेश सरकार सुरक्षित

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबी गर्नुभएको छ ।
केन्द्रमा सत्तारूढ दल नेकपाका नेताहरु एकले अर्कोलाई खुइल्याई फरकफरक गतिविधि गरिरहेको र प्रदेशका सरकारहरु हल्लिरहेका बेला लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री चौधरीले आफूहरु सहभागी सरकार आजका मितिसम्म सुरक्षित रहेको दाबी गर्नुभएको हो ।
प्रचण्ड–माधव समूहका कारण प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै उहाँले प्रतिनिधिसभा पुनस्र्थापना हुने सम्भावना नरहेको दाबी गर्नुभयो ।
उहाँले प्रदेशका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको मत जाहेर नगरेकाले त्यसको कतै पनि तयारी वा असन्तुष्टि नसुनिएकाले प्रदेश सरकार फेरबदल वा मन्त्रीमण्डल फेरबदल तत्काल नहुने दाबी गर्नुभयो । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संस्थापन पक्ष ओलीतिर खुलैर सांसदहरु लाग्ने क्रम शुरु भएको र पूर्वमाओवादीका ५ देखि ७ जना सांसद आउने भएकाले सरकार अल्पमतमा नभई सुरक्षित रहेको बताउनुभयो ।