बालकृष्ण मैनाली
बेलाबेलामा स्वतस्फूर्तरुपमा हुने र प्रायोजितरुपमा गराइने थरीथरीको आन्दोलनलाई जनआन्दोलनको नामाकरण गरी त्यसलाई भजाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने बानी परेका राजनीतिक व्यवसायीहरुले जनताको चाहना पूरा गर्छु भनेर जति गुलियो अश्वासन बाँडी सत्तामा पुगे तापनि सत्तामा पुगेपछि आफ्नो दम्भको प्रदर्शनमा अलिकति पनि कतै कमी ल्याउने धृष्टतासम्म गर्न सकेनन् । केही सद्गुणी पात्रले त्यो धृष्टता गरिहाल्यो भने यसले मेरो खुट्टामा बन्चरो हान्न आयो कि भन्ने चिन्ता र छटपटाहटहरुले मलजल गरिहाल्दो रहेछ ।
पञ्चायती अवशेषहरुले यदाकदा बहुदलीय व्यवस्थामा हालिमुहाली गर्ने प्रयत्न गरेका कुरालाई क्षणिक अपवादको रुपमा राख्ने हो भने पञ्चायतकालपछि यो वा त्यो नाउँमा कांग्रेस र कम्युनिस्टहरुले नै देशको बागडोर हाँकिरहेका छन् । चाहे राणाशासनलाई ढालेर सत्तामा पुगेको कांग्रेस होस् या पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको नाउँमा सत्तामा पुगेको कांग्रेस वा कम्युनिस्ट होस् अथवा वर्तमान गणतान्त्रिक सत्ताका सञ्चालक दुई तिहाइका कम्युनिस्ट नै किन नहुन्, सत्ता यिनीहरुकै वरिपरि घुमिरहेको सत्य हो । तत्–तत् बेलाका शासकदेखि वर्तमान बेलाका शासकसम्मका काम गराइ र तिनका अभिव्यक्तिहरु हेर्दा÷सुन्दा विशेष गरी छयालीसपछिका शासकहरुले अपवादको रुपमा कृष्णप्रसाद भट्टराईको सरकार र मनमोहन अधिकारीको छोटो अवधिको सरकारदेखिबाहेक जनताको भावनालाई सम्बोधन गर्नै सकेनन् । जनहितलाई सम्बोधन गर्नुभन्दा पनि सधैँभरि विजयी उन्मादको दम्भ प्रदर्शित गर्दै आफ्ना वरिपरि रहेका आफ्ना र विश्वासपात्र भनाउँदाहरुका सही÷गलत जे सल्लाह प्राप्त हुन्छन् आखाँ चिम्लेर त्यसलाई आत्मसात् गर्नुदेखिबाहेक अरु आवश्यक विषय र सेवाहरु भाँडमै जाओस् भन्ने नीतिसिबाय अरु विषयले कहिल्यै प्राथमिकता प्राप्त गर्न सकेन ।
वर्तमान दुई तिहाइ नामधारी सरकार पनि यही नीतिलाई अवलम्बन गर्दै बहुलठ्ठी पारामा अगाडि बढ्ने क्रममा आजको दिनसम्म आइपुग्दा सत्तासीन शासकहरु र तिनका आफ्नै दौंतरी भनाउँदाले एकले अर्काको लुगा च्यात्दै लगौँटीमात्र बाँकी राखेर नाङ्गै बनाउँदा पनि दुवै थरीले हामीले कहिल्यै नच्यातिने लुगा लगाएका छौँ भन्दै, थरीथरीका अलापविलाप गर्दै सडकमा नाङ्गै नाच देखाइरहेका छन् । प्रत्येक जनजनले केलाई भन्दा केलाई लाज भयो भनेर कुरीकुरी गर्दा पनि लाज ढाक्ने प्रयास गर्नु त परै जाओस् एक–अर्काले लगाएको लुगाहरुमध्ये बाँकी रहेको एउटा लगौँटीसमेत च्यात्दै, अभैm लुगा लगाइरहेका नै छौं भन्दै आ–आफ्नै परिवारभित्र नग्न प्रदर्शन गरिरहेका छन् ।
हुँदा–हुँदा पछिल्लो समय नाङ्गिएकाहरुले आफ्नो नाङ्गोपनलाई आफ्नो परिवारभित्र मात्र सीमित राखेनन् । नजिक तथा टाढाका छरछिमेकीहरुलाई आपूm नाङ्गिएको अंग प्रदर्शन गरिछाडे । अर्काको नाङ्गोपनमा खेल्न र खेलाउन खप्पिस अवसरवादीहरुले आफ्नो स्वार्थको निमित्त नाङ्गिएकाहरुलाई मलजल गर्न बाँकी राख्ने कुरै भएन । नजिकका छिमेकीहरुदेखि लिएर टाढा रहेका शुभचिन्तक भनाउदाँहरु पनि नाङ्गोपनको फाइदा उठाउन लालायित भएका छन् । सल्लाह र सुझाव दिने नाउँमा आ–आफ्नो स्वार्थको खेलोफड्को गर्न पाइन्छ भन्दै यो वा त्यो नाउँबाट दगुर्न थालिसकेका छन् । कोही दगुरेर फर्किसके, कोहीको दौड कायमै छ । यति हुँदा पनि नाङ्गेहरुको चेतमा अभैm घाम लाग्न सकेको छैन ।
एकातिर एउटा भर्खरै चोइटिएर गएको एकथरी दौँतरीलाई सत्तामा रहेको अर्को दौँतरीले यो बितेको तीन वर्षभित्र आपूmलाई पटक–पटक धोका दिँदा पनि सफा भैहाल्छ कि भनेर धुँदा–धुँदा उनका डोभ साबुनका धेरै डल्लाहरु खर्च भएछन् । धेरै स्याम्पू खर्च गरेछन् । ड्रमका ड्रम पानीले नपुगेर टयांकीका टयांकी पानी किनी ल्याएर नुहाइदिएछन् । जति साबुन लगाएर पखाले पनि जस्ताको तस्तै भएको कारणले बाध्य भएर आफ्नो दौँतरीलाई हटाउनुपरेको प्रवचन दिएछन् ।
निस्केर जानेको दौँतरीको प्रवचन पनि कम्तीको घत लाग्दो छैन । मैले नै सत्ताधारी दौँतरीलाई आपूmविरुद्ध जे गर्दा पनि होस् भन्दै माया गरेर यो सत्ताको बागडोरमा हालिमुहाली गर्न सहयोग र भरथेग गरेको हुँ । त्यति गर्दा पनि उल्टो मलाई नै धोकेबाज भनिरहेका छन् । सहयोग गर्नु धोका हो भने धोकेबाज जिन्दावाद भन्दै विद्युतीय सञ्चारमाध्यममा रोइलो काटिरहेका छन् । निस्केका दौँतरीको रोइलो त्यतिमा मात्रै सीमित छैन । आपूmलाई सहयोग गर्नको लागि आवश्यक परे हस्तक्षेपसमेत गर्न छिमेकीसँग हारगुहार गरिरहेका छन् र सँगसँगै माइतीघर मण्डलामा गएर हामी याहाँ छौं भन्ने वाक्य लेखेको कागजलाई छातीमा टाँस्दै हास्यव्यङ्ग्य पनि प्रदर्शन गरिरहेका छन् । के बहाना झिकेर आफ्नो स्वार्थसिद्ध गर्न सकिन्छ भन्दै मौका कुरिरहेका छिमेकीहरु ह्स्तक्षेपको लागि खुल्ला आह्वान नै गरिदिएपछि ‘के खोज्छस् कानो आँखो’ भन्ने उखान चरितार्थ हुन कुनै समय पर्खनुपर्दैन ।
केही अगाडिसम्म प्रधानमन्त्री र उनका दौँतरीलाई देशको चिन्ताभन्दा आफ्नो गुटको चिन्ताले सताउन थालेको अनुभूति त गरिएकै थियो, तर पनि पछिल्लोपटक तुलनात्मकरुपमा प्रधानमन्त्री र उनका दौँतरी प्रचण्डबाट आएका र सार्वजनिक भइरहेका अभिव्यक्तिहरुले देशको चिन्ता त परै जाओस् आफ्नो दलको चिन्तालाई समेत मसानघाटमा विसर्जन गरिदिएर आपूm बाँचुन्जेल कसरी सत्तामा हाबी भैरहने चिन्तनले नै ग्रस्त पार्दै लगेको भन्ने छर्लंग भएको थियो ।
कुनै अमूक दलका व्यक्तिहरु प्रधानमन्त्री, मन्त्री र सांसद हुन सक्छन् तर प्रधानमन्त्री, मन्त्री र सांसद कुनै अमूक दलको मात्र माथापच्चीमा रमाइराख्नु भनेको जनमतलाई ठाडै नकार्नु हो । यति कुरा ज्ञात हुँदाँहुदै पनि दलीय स्वार्थभन्दा निम्नस्तरको व्यक्तिगत र गुटगत स्वार्थमा अन्धो भएर देशलाई वर्तमान दुर्गतिसम्म ल्याइपु¥याउँदा दलीय नायक भनाउँदाहरुमा अझै आपूmले गल्ती गरेको कुराको चेत खुलेको देखिँदैन । अरु त अरु, आन्तरिक विवाद मिलाउन सहयोग गर्ने भन्दै छिमेकीहरुबाट थरीथरीका प्रतिनिधिहरु यो वा त्यो नाउँमा भित्रिनुलाई अभैm गौरवको विषय बनाइरहेका छन् । त्यति मात्रै होइन, यो छिमेकी मुलुक वा त्यो छिमेकी मुलुकको मलाई सहयोग र समर्थन आवश्यक छ भन्दै सीधै सञ्चारमाध्यमबाट हस्तक्षेपको लागि विदेशीहरुलाई खुल्ला आह्वान गर्ने कामसमेत यी सत्ताधारीहरुले गर्ने गर्दछन् भने देशको लागि यो भन्दा विडम्बना अरु के हुनसक्छ ?
तत्कालीन भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रहितमा कठोर अभिव्यक्ति प्रदान गरेर रातारात हिरो बन्न सफल भएकाहरुको कथित राष्ट्रवादको आवाज वर्तमानमा आएर खोक्रो राष्ट्रवादमा परिणत भएको छ । कम्तीमा पाँच वर्षभित्र परिधिको शासन कायम गर्दै संविधान र कानुनमा उल्लेख गरेभन्दा एकरत्ति पनि दायाँबायाँ नहुने कुराको प्रत्याभूति प्रदान गर्दै सत्तामा पुगेकाहरुको वर्तमान कार्यशैली आज आएर अन्ततः झुटो साबित भएको छ ।
देशको प्रधानमन्त्रीले नै समय–समयमा आफ्ना कार्यकर्ताहरुलाई अरिङ्गालको रुपमा प्रस्तुत हुनु भनी निर्देशन दिँदै आएको सबैमा जगजाहेर नै छ । आज तिनै अरिङ्गालहरु समूह–समूहमा विभाजित हुँदै एक–अर्कालाई सिध्याउने परिपञ्चमा उद्यत् भएर लागिपरिरहेका छन् । देशमा २०४६ सालपछिको दलीय इतिहासलाई हेर्दा कुनै पनि दलमा सामान्य विवादको जन्म हुनासाथ सो विवादलाई आपसमा मिलाउनुको साटो देशी–विदेशीको प्रभावमा परी टुक्रा गराइछाडने प्रवृत्ति हाबी भएको प्रत्येक जनसँग अनुभव छ । देशका कथित नेताहरुका एक–आपसमा स्वार्थ बाझिएको जानकारी हुनासाथ आफ्नो अनुकूल खेलाउन चाहने स्वदेशी वा विदेशी शक्तिहरुले दलहरुलाई टुक्र्याउन क्षणभर पनि लाग्दैन ।
त्यसैको निरन्तरता वर्तमानमा पनि कायमै छ भन्ने कुरा वर्तमानले पनि पुष्टि गरिसकेको छ । कांग्रेस होस् या कम्युनिस्ट राजावादी होस् या धर्मवादी हरेकलाई फुटाउन र मिलाउन विदेशीको सक्रियतालाई नै अनिवार्य मानिने कुराको अन्त्य देशमा कहिल्यै हुन सकेन । कहिलेसम्म राष्ट्र यस किसिमको अनिर्णयको बन्दीबाट गुज्रिरहने हो ? त्यसको कुनै टुंगो छैन । यस मानेमा अब दलहरुका अरिङ्गालहरुलाई यथास्थानमा ल्याउन जनजन आपैmँ उच्चकोटीको अरिङ्गालको रुपमा प्रस्तुत नभई धर छैन ।
वामएकताका दुई अध्यक्षमध्ये एक अध्यक्षले ‘वामएकताका लागि केही गरी जुत्ता सानो भई खुट्टा छिराउन समस्या देखा परेमा आफ्नै खुट्टालाई ताछेर भए पनि जुत्ता लगाइछाड्नुपर्ने अभिव्यक्ति वामएकता हुनुअघि सार्वजनिक गरेको जनजन अहिले पनि सम्झिन्छन् । अन्ततः अध्यक्षद्वयले आ–आफ्नो खुट्टा ताछेर होइन कि काँडा मिसिएको विदेशी छालाले बेर्नसम्म बेरेर सकी नसकी जुत्तामा छिराएका रहेछन् । आजको दिनसम्म आइपुग्दा काँडा मिसिएको विदेशी छालाहरुद्वारा बेरिएको आ–आफ्नो खुट्टामा काँडाले प्वाल पारेर थिलथिलो बनाएपछि दुवैले आ–आफ्नो खुट्टा जुत्ताबाट निकालेर अब के औषिधि गर्ने भन्दै रडाको मच्चाइरहेका छन् ।
दुवैका खुट्टामा अनगिन्ती प्वालैप्वाल छन् । सितिमितिको मलहम वा सिमेन्टले त्यो प्वाल टालिनेवाला छैन । जनताको हितका निमित्त केही कदम चाल्दा यदाकदा ताछेको खुट्टामा स्वदेशी वा विदेशी काँडाले कथंकदाचित कोतरिहालेमा मलहमपट्टी लगाउन बेलैमा व्यवस्थापन गरेर यथास्थानमा राख्नु उपयुक्त हुन्छ । अन्यथा काँडाहरुले कोतरेको बेलामा बेलैमा मलहमपट्टी नलगाई त्यत्तिकै छोडियो भने पछि गएर क्यान्सरको रुपधारण गर्न सक्छ भनेर उहिल्यै दिइएको सल्लाह र सुझावलाई रद्दीको टोकरीमा फालिएको परिणाम काँडेजुत्ता लगाउनेले मात्र होइन निर्दोष जनजनले समेत भोग्न बाध्य हुनुपरेको छ ।
वर्तमानमा देखापरिरहेको दलीय रोइलोलाई जनजनले आश्चर्यजनकरुपमा लिएका छैनन् भन्दा अत्युक्ति हुनेछैन । किनकि प्रत्येक क्षण र अवसरमा गोहीको आँसु झार्न खप्पिस दलीय नेतृत्वहरु वर्तमानमा पनि जनजलाई भ्रम छर्न सकिन्छ कि भन्दै पुनः गोहीको आँसु झार्ने जमर्को गर्दै छन् । ढिलो वा चाँडो हुने निर्वाचनमा गोहीको आँसु झार्दै सत्तापक्ष र प्रतिपक्ष दुवै जनजनको घर–आँगनमा झुल्किनेछन् । जनजन बेलैमा सचेत हुन सकेनन् र तिनीहरुलाई दण्डित गर्न सकेनन् भने पछि पुनः पछुताउनुको कुनै अर्थ रहनेछैन ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)
प्रतिक्रिया