वासुदेव शर्मा, जाजरकोट
जाजरकोट सदरमुकाम खलंगामा विपन्न वर्गकी एकल महिला ज्याला मजदुरीबाट जीवन निर्वाह गरेकी छन् । गाउँमा जग्गा जमिन नभएपछि उनी कामको खोजीमा जाजरकोट सदरमुकाम खलंगामा ज्याला मजदुरी गरी बसेकी छन् ।
जुनीचाँदे गाउँपालिका–४ लुहादहकी एकल महिला पार्वती वादी विगत ५ वर्षदेखि सदरमुकाम खलंगामा ज्याला मजदुरी गर्दै आएकी छन् । उनको घरबाहेक जग्गाजमिन छैन । घर पनि सौताले कब्जा गरेपछि गाउँमा बस्न समस्या भएकाले छोराछोरी काखी च्यापेर कामको खोजीमा शहर पसेकी हुन् ।
‘श्रीमान् भीमे वादीले पहिलो श्रीमतीबाट ५ छोरी जन्मिएकाले घरपरिवारको सहमतिमा छोराको आशामा मलाई विवाह गर्नुभयो।’ –पार्वतीको भनाइ थियो ।
तर पछि दुइटैका एक÷एक छोरा जन्मिए । ‘ऐलानी जग्गा खनजोत गर्दै ज्याला मजदुरीबाट हामीलाई पाल्नुभएको थियो । २०७१ सालमा उहाँको भीरबाट खसेर मृत्यु भयो, बाँकी रहेको घर पनि सौताले कब्जा गरेपछि म त्यहाँबाट निस्कनुपरेको हो।’ –पार्वतीको भनाइ थियो ।
पार्वतीले जाजरकोट सदरमुकामका ६ वटा घरमा भाँडा माझेर ४ सन्तानलाई ज्यालामजदुरी गरी पाल्नुभएको छ । छोराछोरीलाई पढाउने इच्छा भए पनि कापीकलम किन्न सक्ने अवस्था नभएकाले कक्षा आठमा पढ्दै गरेको १६ वर्षीय छोरा प्रकाश गाडीमा सहयोगीका रुपमा काम गर्छन् । आर्थिक अभावकै कारण १३ वर्षीया छोरी शर्मिलाले पढाइ छोडेकी छन् भने ८ वर्षीया कान्छी छोरी लक्ष्मी कक्षा ३ मा पढ्दै छन् ।
आफूले नपढेर नै दुःख पाएको पार्वतीले बताउनुभयो । पार्वती त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता परिवार धेरै छन् । ‘सरकारले विपन्न वर्गको सूचीमा रहेका वादी जातिलाई घर बनाइदिन्छ भन्ने जानकारी पाएपछि शहरी विकास कार्यालयमा दुई तीनपटक पुगें, आफ्नो गुनासो राखें तर कार्यालयले गुनासोलाई सुनुवाइ गरेन।’ –पार्वतीको गुनासो थियो ।
घरआँगनमै आएको स्थानीय सरकारले विपन्न, दलित, सुुकुम्बासी, सीमान्तकृत वर्गको पहिचान गर्न नसक्दा साना कुराहरुमा नागरिकले दुःख पाउने गरेको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।
गाउँपालिका तथा नगरपालिकाभित्रका गरिब विपन्न वर्गका नागरिकहरुको तथ्यांक संकलन गरी उनीहरुको आवश्यकतालाई समाधान गर्ने प्रमुख दायित्व स्थानीय सरकारको भएकाले अविलम्ब नागरिकका समस्या समाधान गरी अवस्था परिवर्तन गर्न सरकार लाग्नुपर्ने नागरिक अगुवा शाहको भनाइ छ ।
प्रतिक्रिया