सर्वोच्चमा पठाइयो लिखित जवाफ


काठमाडौं, (नेस)

प्रतिनिधिसभा विघटन गरेको विरुद्ध दायर भएका रिट निवेदनको लिखित जवाफ सरकारका निकायले आइतबार सर्वोच्च अदालत पठाएका छन् । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले सरकारका लिखित जवाफ अबेर गरेर सर्वोच्च अदालत पठाएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले आइतबारसम्ममा लिखित जवाफ पठाउन सरकारका निकायहरुलाई आदेश दिएको थियो । सोबमोजिम समयमा नै लिखित जवाफ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो । सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लिखित जवाफमा प्रतिनिधिसभा विघटन गरिएको संविधान सम्मत भएको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध सर्वोच्चमा १३ थान रिट निवेदन दायर भएका थिए । ती सबै रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गरेपछि संवैधानिक इजलासले लिखित जवाफ पठाउन आदेश दिएको थियो । रिट निवेदनमध्ये केहीमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, प्रधानमन्त्री मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता रेग्मीले सबै गरेर १६ थान लिखित जवाफ पठाइएको जानकारी दिनुभयो । सर्वोच्चले यही पुस २२ गतेदेखि प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ गर्ने मितिसमेत तोकिसकेको छ । सर्वोच्चले ती रिट निवेदनको निरन्तर सुनुवाइ गर्ने उल्लेख गरिसकेको छ ।

प्रारम्भिक सुनुवाइ भएन
प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार गरिएको विरुद्ध दायर गरिएका रिट निवेदनको प्रारम्भिक सुनुवाइ पनि हुन सकेको छैन । यही पुस १३ गते दायर गरिएको रिट निवेदनको आइतबारसम्म प्रारम्भिक सुनुवाइसमेत हुन सकेको छैन । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा सुनुवाइका लागि पेस भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि सो कार्य संविधानविपरीत भएको दाबी गरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता लोकेन्द्र ओलीले छुट्टाछुट्टै रुपमा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।