प्रचण्ड–नेपाल समूहद्वारा एक महिने आन्दोलनको घोषणा


मधुसूदन रायमझी, काठमाडौं

नेकपा प्रचण्ड–नेपाल समूहले सरकारले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा एक महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पहिलो चरणमा आन्दोलनको कार्यक्रम सम्पन्न गरेलगत्तै प्रचण्ड–नेपाल समूहले यही पुस २० देखि माघ २३ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य दलसँग संयुक्तरुपमा मोर्चाबन्दी गरेर आन्दोलनमा जाने रणनीति बनाए पनि संसद् विघटनको बारेमा कांग्रेस मौन बसेपछि प्रचण्ड–नेपाल समूहले एक्लै थप आन्दोलनको घोषणा गरेको छ । कांग्रेसले तत्काल सरकारले गरेको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा नजाने रणनीति लिएपछि प्रचण्ड–नेपाल समूहले पुनः सडक आन्दोलनमा जाने निर्णय लिएको हो ।

प्रचण्ड–नेपाल पक्षले पुस २० गतेदेखि माघ २३ गतेसम्म एक महिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा गरिएको प्रतिनिधिसभा विघटनको पुनस्र्थापना नहुँदासम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले सशक्तरुपमा सरकारले गरेको असंवैधानिक कदमविरुद्ध आवाज उठाउने बताउनुभयो ।

यही पुस २० गतेदेखि २५ गतेसम्म पालिकास्तरमा भेला सम्पन्न गर्दै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने भएको छ ।

त्यसै गरी प्रचण्ड–नेपाल समूहले पुस २३ गते नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम गर्ने, २४ गते ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्र बुझाउने, पुस २६ गते सडकमा संविधान वाचन व्याख्या गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रवक्ता श्रेष्ठले पुस २७ गते सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, पुस २८ गते प्रदेश २, गण्डकी र कर्णाली र पुस २९ गते बागमती प्रदेशमा कार्यकर्ता भेला गरिने बताउनुभयो । घोषित कार्यक्रमअनुसार पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ टोलटोलमा कालोझन्डा गाड्ने र असंवैधानिक कदमविरुद्धमा वडाहरुमा ब्यानर राख्ने रहेको छ ।

पुस २९ गते निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला, पुस ३० गते देशभरका सबै वडामा विरोध प्रदर्शन, माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन, माघ १० गते देशभरका शहरमा मोटरसाइकल ¥याली प्रदर्शन, माघ १६ गते प्रदेश १, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ । माघ २२ गते सबै वडा तहमा मसाल जुलुसदेखि लिएर माघ २३ गते काठमाडौंमा विरोध सभा गरेर दोस्रो चरणको आन्दोलनको कार्यक्रम समापन हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।