दमकमा सुटुक्क नेता भेट्दै ज्ञानेन्द्र


नेपाल समाचारपत्र, काठमाडौं
परिवारसहित दमक पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले राजावादी र अन्य दलका नेतासँगको भेटघाट सुटुक्क दमकमै गर्नुहुने भएको छ । राप्रपालगायत केही राजावादी दलका नेताले सडकबाटै नेपालमा हिन्दू अधिराज्य र राजतन्त्रको वकालत भइरहेको अवस्थामा मुलुकको गतिविधिबारे सूक्ष्म अध्ययन गर्न दमक पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले त्यहींबाट महŒवपूर्ण भेटघाट गर्नुहुने भएको छ ।
उच्च स्रोतका अनुसार एक साताअघि आफ्नै स्वामित्वमा रहेको हिमालय टि स्टेटमा निजी सचिव डा. सागर तिमल्सिना र केही आफन्तसँग एकान्तबासमा रहनुभएका ज्ञानेन्द्रले गोप्य भेटघाट गर्ने हुनुभएको छ ।
‘दमक र चियाबगान वरपर केही चहलपहल बढेको छ, उहाँले यतैबाट महŒवपूर्ण भेटघाट गर्ने तयारी गर्नुभएको छ।’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । स्रोतका अनुसार ज्ञानेन्द्रले भेट गर्न चाहने व्यक्तिलाई निजी सचिव तिमल्सिनामार्फत संवाद सचिव डा. फणिराज पाठकलाई खबर गर्ने र पाठकले भेट गर्ने नेतालाई सम्पर्क गरी दमकमा भ्रमणको व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
अहिले त योजना तयार भइरहेको छ, केही दिनपछि भेटघाट शुरु हुने बताइएको छ । अहिलेसम्म कति दिन दमकमा बस्ने भन्ने विषयमा निक्र्योल भइसकेको छैन । शाह लामो समयका लागि परिवारसहित दमक आउनुभएको हो । जाडो छल्ले वहानामा दमक पुग्नुभएका ज्ञानेन्द्रले यो भ्रमणमा महŒवपूर्ण भेटघाटलाई केन्द्रित गर्नुभएको छ ।
अघिल्ला भ्रमणमा दमकबाटै भारत पुग्नुभएका ज्ञानेन्द्रको यो भ्रमणमा भारत जाने वा नजाने निर्णय भइसकेको छैन । तर भारत भ्रमणको विषयमा समेत छलफल भइरहेको छ । दुई तिहाइको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको राप्रपाले खुलेरै राजा ल्याउने उद्घोष गरिसकेको छ ।
पहिला हिन्दू अधिराज्यको माग गर्ने र सोहीमार्फत राजतन्त्र ल्याउने तयारी गरिरहेका राजावादीले राजधानीलगायत देशका विभिन्न जिल्लामा फाट्टफुट्ट आन्दोलन गरिरहेका छन् ।
सोही मौका छोपेर पछिल्लो अवस्थाबारे अध्ययन गरिरहेका पूर्वराजा शाहले सुटुक्क रणनीति बनाइरहेको आकलन गरिएको छ । यो भ्रमणमा सबै तहका नेतासँग भेट गरी रणनीति बनाउने विषयमा छलफल जारी रहेको स्रोतको दाबी छ । ज्ञानेन्द्र शाह १२ गते र उहाँको सुरक्षार्थ खटिएको टोली ८ गते दमक पुगेको थियो । टोलीले ज्ञानेन्द्र दमक आउनुअघि सबै क्षेत्रको रेकी गरेको थियो ।