भक्तपुर नेकपामा अध्यक्ष तथा प्रधामन्त्री ओलीकै बर्चश्व

0
Shares

न्युज अफ नेपाल, भक्तपुर ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भक्तपुरमा ओली पक्षकै बर्चश्व देखिएको छ । जिल्लामा साविक नेकपाका ३ केन्द्रीय सदस्य छन् । जसमध्ये केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले ओली समूहको नेतृत्व गर्नुभएको छ भने नेकपा प्रचण्ड –नेपाल समूहको नेतृत्व अर्का केन्द्रीय सदस्य दिलीप प्रजापतिले गर्नुभएको छ ।

अर्का केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र भने खुल्नु भएको छैन । साविक एमाले छँदा माधव नेपाल पक्षीय नेता मिश्र अहिले मौन हनुहुन्छ । भक्तपुरमा नेकपाका तर्फबाट चार प्रदेश सांसद रहेका छन्। जसमा दुइटै समूहमा आधाआधा बाँडिएका छन् । प्रदेश सांसद रहेका शशिजंग थापा र सरस्वती बाटीलाई ओली पक्षले केन्द्रीय सदस्यमा समेत मनोनीत गरिसकेको छ।

त्यस्तै थप दुई प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठ प्रचण्ड नेपाल समूहमा खुलेका छन् । साविक नेकपाले भक्तपुरको जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य दिलीप प्रजापति र सहइन्चार्जमा अर्का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई जिम्मेवारी दिइएको थियो।

त्यस्तै साविक एमाले र माओवादी केन्द्रबीच पार्टी समायोजन हुँदा भक्तपुरमा एकसय ४५ जनाको जिल्ला समिति गठन गरिएको थियो। जिल्ला समितिमा पूर्वएमालेका ८२ जना र पूर्वमाओवादीका ६३ जना सदस्य थिए । जुन समितिको अध्यक्षमा एमालेका बचन देउजा र सचिवमा माओवादीका देवीप्रसाद ढकाललाई छानिएको थियो।

अहिले पार्टी विभाजित हुँदा जिल्ला अध्यक्ष देउजा ओली र सचिव ढकाल प्रचण्ड नेपाल समूहमा लाइनुभएको छ । जिल्ला अध्यक्ष देउजाले भक्तपुरमा ओली समूह नै बहुमतमा रहेको दाबी गर्नुभयो एकसय ४५ सदस्यीय जिल्ला समितिमा आफूहरुको पक्षमा ८० जनासम्म पुग्ने उहाँको जिकिर छ ।

देउजाले भक्तपुरका ३ जना मेयर र २ जना उपमेयरमध्ये केन्द्रीय सदस्य एवं चाँगुनारायण नपाका मेयर मिश्रबाहेक सबै आफ्नो पक्षमा रहेको दाबी गर्नुभयो ।जसअनुसार मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नपाका मेयर वासुदेव थापा र उपमेयर जूना बस्नेत तथा चाँगुनारायण नपाकी उपमेयर वीणा बाँस्तोला ओली समूहमा रहेको अध्यक्ष देउजाको भनाइ छ। तत्कालिन एमाले अध्यक्ष राजेन्द्र राजथला पनि ओली समुहमै हुनुहुन्छ ।

यस अघिका जिल्ला इन्चार्ज प्रजापतिले भने साविक एमालेका सबै नखुले पनि प्रचण्ड नेपाल पक्षमा बहुमत रहेको दाबी गर्नुभयो ।एकसय ४५ सदस्यीय जिल्ला समितिमा आफूहरुको पक्षमा ७७ जना भएको उहाँको भनाई छ । जिल्ला इन्चार्ज प्रजापतिको भनाइलाई ठाडै अस्वीकार गर्दै ओली समूहका प्रदेश सांसद शशिजंग थापा र नेता निर्मल भट्टराईले भने भक्तपुरमा आफूहरु ९० प्रतिशत रहेको दाबी गर्नुभयो । गरिबी निवारण आयोगका उपाध्यक्षसमेत रहेका नेता भट्टराईले साविक पूर्वएमालेका ७ जना जिल्ला सदस्यमात्रै प्रचण्ड नेपाल समूहमा खुलेको बताउनुभयो ।