बजेट अभावमा जनता आवास अलपत्र


नेपाल समाचारपत्र, मुगु
हिमाली जिल्ला मुगुमा जनता आवासका घर बजेट अभावका कारण अलपत्र परेका छन् । नेपाल सरकारले विगत केही वर्षदेखि गरिब, विपन्न तथा दलितबस्तीलाई अनुदानमा दिँदै आएको जनता आवास कार्यक्रमअन्तर्गत सञ्चालनमा आएका जनता आवास घर अलपत्र परेका हुन् ।

करिब ९० प्रतिशत घर निर्माण भइसक्दा पनि सरकारले समयमै रकम नदिँदा जनता आवासका घर अलपत्र अवस्थामा रहेको स्थानीयले बताएका छन् । समयमै रकम नपठाउँदा यहाँका करिब ३ सय ५० दलित घर–परिवारका छानो हाल्न पाएका छैनन् ।

पछिल्लो समय मुगुमा चिसो बढ्दै गएकाले छानो छाप्न नपाउँदा चुहिने छानोमै दिन–रात काट्न दलित परिवार बाध्य छन् । विगतमा सरकारले अनुदानबाट घर निर्माण गरिदिन्थ्यो, अब हाम्रा चुहिने छानामा बस्ने दिन हटे भनेर उनीहरू खुसी थिए तर समयमा सरकारले प्राविधिक नपठाउँदा घर निर्माणमा पूर्णविराम लागेको छ ।

जनता आवास घर पाएको करिब तीन वर्ष बितिसक्यो तर हालसम्म पाउनुपर्ने अन्तिम किस्ता पनि पाएका छैनन् उनीहरूले । जनता आवास घरको कार्यक्रमबाट उल्टै गरिबलाई झन् गरिब बनाउने र थप ऋण लाग्ने काम मात्र भएको दुखेसो छ स्थानीयको ।

बजारबाट जस्ता, सिमेन्ट, सरिया ल्याएका छन् । एकातर्फ साहुले रकम मागेर हैरान छ, अर्काेतर्फ सरकारले रकम नदिएर कट्टा गर्न थालेको छ । पहिला किस्तामा १ लाख ५० हजार रुपियाँभन्दा बढी रकम दिएको थियो । सरकारले दिएको रकम मिस्त्री ज्याला, ढुंगा, काठ ढुवानी गर्दै सकिएको सोरु गाउँपलिकाका दल ढोलीको भनाइ छ । ‘यो घर दिनुभन्दा नदिनु बेस् । हामी गरिब, त्यसैमा पनि दलितलाई झन् गरिब बनाउने कामबाहेक केही भएन ।’ –उहाँको भनाइ छ ।

उनी मात्र होइन, उस्तै कथा सोरु गाउँका कर्मा लावडको पनि । जनता आवास कार्यक्रमको घर सरकारी अनुदानको पाउँदा निकै खुसी भए उनी । तर, हिजोआज निकै दुःखी छन् । उनले पनि अन्तिम किस्ता रकम पाएका छैनन् ।

‘समयमा प्राविधिक नआउँदा घर पहिला एक तलाको बनाउने सल्लाह पाइयो र जस्तासहित छानो लगाइयो । पछि एकपटक प्राविधिक आएर दुई तलाको हो, पुर्न लगाउनुप¥यो भने । जस्ता निकाल्दा सबै प्वाल प¥यो, त्यो पनि घाटा भयो ।’ –उनले भने ।

यस्तै दुःख यी दुई जनाको मात्र होइन, मुगु जिल्लाभरका जनता आवास घर पाएका ३ सय ५० जनाकै रहेको छ ।

आर्थिक वर्ष २०७५÷०७६ देखि मुगुमा सञ्चालन गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मुगु जिल्लामा ३ सय ५० घरधुरीले यो कार्यक्रम पाएका हुन् । त्यस बेला जनता आवास कार्यक्रमका लागि कुल बजेट ९ करोड अनुमान गरिए तापनि नेपाल सरकारबाट ३ करोड मात्र विनियोजन भएको र बाँकी ६ करोड अपुग भएपछि लाभान्वित वर्गले दुःख भोग्नुपरेको हो ।

पटकपटक थप रकमका लागि जिल्लाबाट सबै प्रक्रिया मिलाएर प्रदेश सरकार र सरोकारवाला निकाय सबैमा पठाइसकिएको छ । अन्य जिल्लामा रकम आएर भुक्तानी भइसकेको भए पनि मुगुमा रकम आएको छैन ।

यस आवमा मात्र ३५ लाख आएको छ । यो रकम कसरी वितरण गर्ने भन्ने सोचमा रहेको र जिल्लाभर ८० प्रतिशत घर निर्माण भइसकेका पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख मोहनसिंह कार्कीले बताउनुभयो । रकम अभावले जनता आवासका घर हिजोआज अलपत्र परेको उहाँको भनाइ छ ।

जनता आवास कार्यक्रममा एउटा घरको बजेट ३ लाख ३२ हजार भए पनि स्थानीय दलितले दुई किस्ता गरी १ लाख ५० हजार जति मात्र भुक्तानी पाएका छन् ।