बैंकक–भैरहवा सिधा उडानमा जोड


काठमाडौं, (नेस)
नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्यान्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यको आवश्यकतामा जोड दिएको छ । थाइल्यान्डको बैंकक र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान गरी पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुकसँगै अगाडि बढ्नुपर्ने चेम्बरको धारणा छ ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफकसँग भएको भेटवार्तामा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले सिधा हवाई उडानमा जोड दिनुभयो । नेपाल थाइल्यान्डबीच बिद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको सभावनालाइ उपयोग गर्न र वुद्धिष्ट सर्किट प्रवद्र्धनका लागि बैंकक–लुम्बिनीबीच सीधा हवाई सम्पर्कका लागि पहल गरिनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष श्रेष्ठले नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका ग्लोवल टेन्डरमा थाइ निर्माण कम्पनीलाइ सहभागी गराउन आग्रह गर्नुभयो । नेपालको पर्यटन, कृषि, तथा जडीबुटी उद्योगलगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुन सक्ने उहाँंको भनाइ छ । थाइल्यान्ड बुद्धमार्गीको मुलुक भएको उल्लेख गर्दै नेपाल र थाइल्यान्डबीच बुद्धिष्ट सर्किटको माध्यमबाट नेपालमा थाइ पर्यटक आगमनको लागि थाइ पर्यटन बोर्डले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने भएकाले यसको लागि पहल गरी दिन उहाँले आग्रह गर्नुभयो ।

भेटवार्ताका क्रममा राजदूत भोसिताले नेपाली व्यवसायी संस्थासँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहलगर्ने बताउनुभयो । कोभिड महामारीपछि दुवै मुलुकका व्यापारिक प्रतिनिधि मण्डलहरुको पारस्पारिक व्यावसायिक भ्रमण हुनेमा आशान्वित रहेको बताउँदै पर्यटन क्षेत्र बिस्तारका लागि वुद्धिष्ट सर्किटको अवधारणा तथा थाइल्यान्ड र लुम्बिनीबीचको सीधा हवाई सम्पर्कलाइ सकारात्मक रुपमा लिएकोे बताउनुभयो ।