चिसो बढ्यो, विपन्नको बिजोग नहोस्


काठमाडौंमा माइनस २ पुगिसक्यो, पहाडी हिमाली जिल्लामा के कुरा गर्नु, तराई मधेसमा मान्छे मरेको म¥यै छने । चिसोले कठ्यांग्रिएर मजदुर र विपन्न वर्गको बिजोग भएको छ । पूर्वी नेपालको तराई मधेस र पश्चिम नेपालको पहाडी जिल्लाहरुमा बढ्दै गरेको चिसोको कारण झन्डै डेढ दर्जन नागरिकको अकालमै मृत्यु भइसकेको छ । जाजरकोटमा एक साताअघिदेखि फैलिएको भाइरल ज्वरोका कारण नौ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा छन् ।

चिसो बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य चौकीहरुमा बिरामीको चाप पनि बढेको छ । चिसोसँगै भाइरल ज्वरोको प्रकोप अझै बढ्ने सम्भावना देखिएको छ । सम्पन्न व्यक्तिहरुभन्दा विपन्न वर्गमा शीतलहर र भाइरल ज्वरोको प्रकोप देखिएको छ । पश्चिम नेपालको जुम्ला र हुम्ला जिल्लामा तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ । त्यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । मुगुमा पनि ५÷६ जना चिसोकै कारण मृत्यु भएको छ ।

तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरिब र विपन्न समुदायका ज्येष्ठ नागरिकहरुको बर्सेनि चिसोले कठ्याँग्रिएर मृत्यु हुने गरेको छ । बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरुमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासका बिरामीको संख्या बढेको छ । चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्नेजस्ता समस्याले पीडित मानिसहरु बढेका छन् । चिसोको मौसमी प्रताडना भोग्नुपरे पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । तत्काल राहत उपलब्ध गराउन पीडित पक्षले माग गर्दै आएका छन् ।

पश्चिम र पूर्वी तराईमा बाक्लो हुस्सुसहित शीतलहर परेका कारण जनजीवन अत्यन्त कष्टकर बन्न पुगेको छ । चिसोको कहरले हरेक वर्ष गरिब तथा विपन्न मानिसको अकालमै मृत्यु हुने गरे पनि सरकारले न्यानो कपडा वितरण गर्न सकेको छैन । तराईमा फुसको छानामा बस्नेहरुको आङमा न्यानो कपडा नपरेरै मृत्यु हुनुपर्ने नियति छ । महोत्तरी, सिरहा, सप्तरीलगायत धेरै जिल्लामा बसोबास गर्ने मुसहर, माझी, दलितलगायतका समुदाय चिसोको चपेटामा परेका छन् । उनीहरुलाई चिसोको कहरबाट जोगाउन ज्यान छोप्ने न्यानो लुगा र ओढ्ने–ओछ्याउनेको प्रबन्ध गर्नुका साथै चिसोका कारण बिरामी पर्नेहरुलाई उचित उपचारको व्यवस्था मिलाउन जरुरी देखिन्छ ।

अझैसम्म घर नबनाएका भूकम्पपीडित टहरोमै बस्न विवश छन् । तराईका जाडोपीडितलाई सरकारले चिसोबाट बच्न स्थायी उपाय सिकाएको छैन । पूर्वी तराईलगायत पश्चिम नेपालका क्षेत्रमा चिसोको चपेटामा परेकाहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई राहत दिने व्यवस्था जनप्रतिनिधिले थालनी गर्नुपर्छ ।

सर्वप्रथम चिसोमा ओत लाग्न नसक्ने घरलाई शीत नचुहिने बनाएर पीडितका लागि लत्ताकपडा र खाद्यान्नसमेत व्यवस्था गर्नु जरूरी हुन्छ । चिसोमा झोलयुक्त तातो परिकारले स्वास्थ्य स्थिति सहज हुन्छ । त्यसैले सरकारले जनप्रतिनिधिमार्फत दाल, गेडागुडीलगायत खाद्यान्न वितरण गर्नुपर्छ । चिसोको कहर सहन विवश जनताका लागि स्थायी उपाय खोज्नेतर्फ सरकारले गम्भीरतापूर्वक पहल गर्नु आवश्यक देखिएको छ । नेपाल सरकारले यो विषयलाई गम्भीतापूर्वक लेओस् ।

चिसोबाट जोगिन धुवाँ–धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलपूmल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ । यसका अतिरिक्त धूलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन । सबै नागरिक सचेत बनेर पुस र माघलाई कसरी सकुशल धकेल्ने भन्ने विषयमै केन्द्रित हुनुपर्ने भएको छ । बिरामी र केटाकेटीका लागि कालकै रुप भएर चिसो आएको छ । चिसो र हुस्सुबाट जोगिर खानपिनमा पनि विशेष ध्यान दिनु जरुरी छ ।
– अस्मिता कोइराला, काठमाडौं ।