चुनाव घोषणालाई नेप्सेको रातो झण्डा


नेपाल समाचारपत्र, काठमाडौं ।

संघीय संसद् विघटन भई नयाँ निर्वाचनको घोषणा भएसँगै राष्ट्रिय राजनीतिमा तरङ आउँदै गर्दा त्यसको प्रभाव पुँजी बजारमा देखिएको छ । राजनीतिक तरङका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार उच्च अंकले झरेको छ ।

यस दिन नेप्से परिसूचक ९६ दशमलव ८८ अंक अर्थात ४ दशमलव ७७ प्रतिशत घटेर १९३५ दशमलव ६३ बिन्दुमा झरेको छ । साथै सेन्सेटिभ इन्डेक्स पनि १६ दशमलव ३९ अंकले घटेको छ । एक्कासी भएको राजनीतिक परिवर्तनले लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिँदा पुँजी बजारमा पहिरो गएको विश्लेषकहरूको राय छ । संसद् विघटनले पुँजी बजारमा प्रत्यक्ष प्रभाव अवस्था नरहे पनि राष्ट्रिय राजनीतिको प्रभाव पुँजी बजारमा देखिनु स्वभाविक हो । तर, अहिले नै आत्तिहाल्ने स्थिति भने नरहेको उनीहरूको दाबी छ ।

नेप्सेमा झण्डै सय अंकको गिरावट आउँदा कारोबार रकम भने उल्लेख्य रहेको छ । कुल १९८ कम्पनीको १ करोड ४५ लाखभन्दा बढी कित्ता शेयर ९ अर्ब ४ करोड ७९ लाख रुपियाँभन्दा बढीको किनबेच भएको छ । यस दिन कारोबारमा भएका सबै समूहको परिसूचक घटेका छन्। यस दिन अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै ८ दशमलव ३९ प्रतिशत घटेको छ। साथै जलविद्युत्को परिसूचक ६ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूहको ५ दशमलव ४८ प्रतिशत, व्यापार समूहको ४ दशमलव २८ प्रतिशत र विकास बैंक समूहको ३ दशमलव ६९ प्रतिशत घटेको छ । यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ७ करोड १९ लाख रुपियाँबराबरको शेयर किनबेच भएको छ । साथै नेपाल पुनर्बीमा कम्पनीको ७९ करोड ३६ लाख र एनआईसी एसिया बैंकको ४७ करोड ९७ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

नेप्से उच्च गिरावट हुँदा पनि युनाइटेड इदी मार्दीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । सो कम्पनीको शेयरमूल्य २९ रुपियाँ बढेको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ७ दशमलव ८१ प्रतिशत बढेको छ । एता पाँच कम्पनीको शेयर मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माथिल्लो तामाकोसी, सूर्योदय लघुवित्त, नेरुडे लघुवित्त, स्वाबलम्बन लघुवित्त र चिलिमे हाइड्रोपावरको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।