कोरोना संक्रमणले बालबालिकामा जटिल समस्या निम्त्याउँदै

0
Shares

भगवती तिमल्सिना, काठमाडौ ।

कोरोना संक्रमणले विश्वव्यापीरुपमा महामारीको रुप लिएसँगै कोरोना संक्रमणमुक्त भएका बालबालिकाहरुमा जटिल स्वास्थ्य समस्याले जरा गाढेको छ । यति बेला बालबालिकामा कोरोना संक्रमण कम देखिएको छ । तर संक्रमण भई निको भएका बालबालिकामा ‘मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम (एमआईएस–सी) देखिन थालेको कान्ति बाल अस्पतालमा दिन प्रतिदिन यस्ता बिरामीको चाप बढ्दै गएको चिकित्सकहरुले जनाएका छन् ।

यस्तै समस्याको उपचार गराइरहेका काभ्रेका एक बालकको मृत्यु भएको छ । काभ्रेका १३ वर्षीय एक बालकको एमआईएस–सीका कारण ४ दिनअघि मृत्यु भएको कान्ति बाल अस्पतालका निर्देशक डा। कृष्णप्रसाद पौडेलले बताउनुभयो । विश्वमा नै कोरोना संक्रमणपछि निको भएका बालबालिकामा यस्ता समस्या देखापरेकाले थप अध्ययन अनुसन्धान शुरु भएका छन् भने नेपालमा पनि कान्ति बाल अस्पतालका चिकित्सकहरुले भर्खरै मात्र कोरोना भएका बालबालिकाका बारेमा थप अध्ययन गरी एउटा रिपोर्ट सार्वजनिक गरेका छन् ।

नेपालको अवस्थालाई अध्ययन गर्ने कमिटीका सदस्य तथा कान्ति बाल अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा। रामहरि चापागाईंका अनुसार कोरोना निको भएपछि बालबालिकामा देखिने (एमआईएस–सी)समस्या निकै जटिल खालको हो । कोरोनाबाट संक्रमितमध्ये १ प्रतिशतको मृत्यु हुन्छ भने –एमआईएस–सी०को समस्याका कारण १० प्रतिशतको मृत्यु हुने गरेको विश्वको अध्ययनले देखाएको छ ।

‘हामीले कान्ति अस्पतालमा आउने बालबालिकामा गरेको अध्ययनले नेपालका बालबालिकाको प्रतिनिधित्व गरेको छ । यसको मूल उद्देश्य भनेकै नेपालका बालबालिकामा कोरोना संक्रमणपछि कस्तो असर परेको छ र यसको थप अध्ययन अनुसन्धान गर्ने भन्नेमा केन्द्रित रहेको छ । यो अनुसन्धान रिपोर्ट हामीले जर्नलमा सार्वजनिक गरेसँगै नेपालका बालबालिकाको अवस्थालाई अध्ययन गर्न सहज हुने विश्वास लिएका छौं।’ –डा. चापागाईले भन्नुभयो ।

यता अस्पतालका निर्देशक डा। पौडेलका अनुसार अस्पतालमा ५ जना बालबालिका एमआईएस–सीका लक्षण उपचारका लागि आएका थिए । यस्तो रोग किन लाग्छ भन्ने यकिन नभए पनि बालबालिकामा कोरोना भाइरससँगै जोडिएर देखिएको छ । उहाँका अनुसार कान्ति बाल अस्पतालमा उपचारका लागि आएका बालबालिका २ देखि १३ वर्ष उमेरका रहेका ५ जना छन् ।

एमआईएस–सीको समस्या भएका बालबालिकामा उच्च ज्वरो आउने, आँखाको साथै जिब्रो रातो हुने, झाडापखाला हुने, टाउको दुख्ने तथा छालामा बिमिरा आउनेजस्ता समस्या नेपालका बालबालिकामा देखिएको छ भने अन्तर्राष्ट्रियस्तरमा पनि यस्तै समस्या देखापरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको डा। चापागाई बताउनुहुन्छ । उहाँका अनुसार कान्ति अस्पतालमा उपचारका लागि देशका विभिन्न स्थानबाट आएका बालबालिकामा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिए पनि एन्टिबडी पोजेटिभ देखिएको थियो । यसरी उपचारका लागि आएका बालबालिकाहरु आफै या परिवारका सदस्यमा कोरोना पुष्टि भएको पनि पाइयो । यस्तो अवस्थामा एन्टिबडी परीक्षण गर्दा बच्चामा पोजेटिभ देखियो भने लक्षण नदेखिई बच्चालाई कोराना भएर निको भइसकेको रहेछ भन्ने बुझिन्छ । राज्यले एन्टिबडी परीक्षणका लागि १ हजार शुल्क तोकेको छ । धेरै ल्याबमा यो परीक्षण गर्न सकिन्छ ।

कान्ति अस्पतालमा उपचारका लागि आएका ५ जनामध्ये दुई बालबालिकामा उच्च ज्वरो, एकमा रक्तअल्पता, हार्ट फेलियर, श्वासप्रश्वासमा समस्या रहेको र हाल १ जना बालक उपचारमा रहेको, ३ जनालाई उपचारपछि घर फर्काइएको र १ जना १३ वर्षीय बालकको मृत्यु भएको निर्देशक पौडेलले बताउनुभयो । मृत्यु भएका बालक हार्ट फेलियर भएर अस्पताल भर्ना भएको अस्पताल रेकर्डमा उल्लेख गरिएको छ ।
बालकलाई अस्पताल भर्ना गर्दा श्वासफेर्न गाह्रो हुनुका साथै मुटुले रगत सञ्चालन गर्न नसक्ने अवस्था अस्पताल आइपुगेको डा. पौडेल बताउनुहुन्छ । पछिल्लो समय यस्ता समस्या लिएर अस्पताल आउने बालबालिकाहरुको संख्यामा वृद्धि भएको पनि उहाँले बताउनुभयो ।

यता अनुसन्धानमा जुट्नुभएका डा। चापागाई भन्नुहुन्छ– ‘बालबालिकामा समस्या देखिएपछि एन्टिबडी परीक्षणमा जोड दिएर राज्यले भोलिका लागि योजना बनाउन सजिलो हुन्छ । त्यसैले कोरोना संक्रमण धेरैमा भइसकेको रहेछ अब पुनः समस्या हुन सक्छ भनी राज्यले थप चनाखो हुनुका साथै व्यवस्थापनमा समेत पहिला नै योजना बनाई कार्यविभाजन गर्न मदत मिल्छ ।’