समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व : प्रम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५ औं प्राज्ञसभालाई सम्बोधन गर्दै उहाँले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अपेक्षा पूरा गराउने क्रममा हरेक क्षेत्रको भूमिका हुने भएकाले मानवीय अन्तरप्रज्ञालाई जागृत गर्दै त्यसमा मानव समाजलाई सार्थकरुपमा हिँडाउनु प्राज्ञिक निकायको दायित्व भएको पनि बताउनुभयो ।

तपोभूमि र अमूल्य वरदानयुक्त नेपालका पाखा र खोंचमा अनेक महाकाव्य लुकेर बसेका तथा कैयौं आविष्कार गर्भमा रहेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल र नेपालीलाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजना आरम्भले आफूलाई हर्षित तुल्याएको बताउनुभयो । उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय संग्रहालय निर्माणको प्रक्रिया शुरु हुनाले अग्रजको सम्मानको प्राज्ञिक थालनी भएको र यस्ता काममा सरकारको सहयोग निरन्तर रहने जानकारी गराउनुभयो ।

बैठकको उद्घाटन सत्रको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले गर्नुभएको थियो । मन्त्री भट्टराईले सभालाई सम्बोधन गर्दै पछिल्लो समयमा नेपाली संस्कृतिमाथि अतिक्रमण बढ्दै गएकाले यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीलाई आग्रह गर्नुभयो । उहाँले प्राज्ञहरूलाई देशको कला, साहित्य, इतिहास र संस्कृतिको संरक्षण गर्न आग्रह गर्नुभयो । नेपालको विविध भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल विश्वका ठूला मुलुकको भन्दा कम नभएको भन्दै मन्त्री भट्टराईले पूर्वीय संस्कृतिभित्रको विविधता जोगाउन विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई अनुरोध पनि गर्नुभयो ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमको समीक्षा र भावी कार्यक्रम तथा योजनाबारे सभामा छलफल हुने बताउनुभयो । उपकुलपति डा. जगमान गुरुङ र सदस्य–सचिव प्रा. जगतप्रसाद उपाध्यायले क्रमशः स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ३५औं प्राज्ञसभा बैठकको सफलताको कामना गर्नुभएको थियो ।

त्यसपछि प्राज्ञसभाका अध्यक्ष गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञसभाको ३५औं बैठकले गत आवको खर्च पारित गर्दै चालू आवका लागि १९ करोड ५० लाखको अनुमानित बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ । यसै गरी बैठकले आव २०७७/०७८ का लागि विभिन्न प्रज्ञा पुरस्कारहरूको निर्णय गरेको छ भने एक जना आजीवन सदस्य र दुई जना मानार्थ सदस्यसमेत मनोनयन गरेको छ ।

बैठकले प्राडा वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिकशास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्राडा तेजरत्न कंसाकरलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुमीलाई प्रदान गर्ने भएको छ । बैठकले दुई/दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने ३ हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालङ्कार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको प्राज्ञसभा सदस्य एवम्् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले जानकारी गराउनुभएको छ ।

यसै गरी बैठकले डा. महेशराज पन्त र प्राडा सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता, आनन्ददेव भट्टलाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।