रारा तालका झझल्काहरु



राराताल मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रशिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्बाइ ५ किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ भने गहिराइ १६७ मिटर छ ।
प्रकृतिको उपहारको रूपमा सृजित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली, यसमा पाइने कस्तुरी, रतुवाजस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुङ्गीहरूले समेत थप शोभा पु¥याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सराजस्तै देखिन्छ । रारा तालको अर्को एक थप विशेषता के छ भने, यस तालमा विश्वमा अन्यत्र कहीँ पनि नपाइने असला (हिमाल) माछा पाइन्छ । रारा तालबाट करिब ३ घण्टाको पैदल यात्रापश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारा तालको मनमोहक दृश्यका साथै सैपाल हिमालको शृङ्खलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनुको साथै अन्यत्र कहीँ नपाइने ुअसलाु जातको माछा पाइन्छ ।

राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए । ग्रीष्म ऋतुमा रारा ताल निकै सुन्दर छ तर जाडो हुन्छ । सबैभन्दा उत्तम भ्रमण गर्ने समय सेप्टेम्बर र अक्टोबर अनि अप्रिलदेखि मईसम्म हुन्छ । डिसेम्बरदेखि मार्चसम्म तापमान पनि जम्ने प्वाइन्टभन्दा तल झर्छ । हिउँदमा भने १ मिटरसम्मको हिउँ पर्ने गरेको छ । बर्खा याममा भने ८० मिलिमिटरसम्म पानी पर्ने गरेको छ । सामान्यतया तालको सतहको तापमान ७.५ देखि ७.६ डिग्री सेल्सियससम्म हुने गरेको छ ।

– रुपा महतारा, रुकुम ।

शेयर बजारबारे जान्न जरुरी

शेयर बजार शेयरको कारोबार अर्थात् शेयर खरिद बिक्री हुने स्थान हो, जुन स्थानबाट शेयर खरिद बिक्री हुन्छ । यस्तो शेयर खरिद बिक्री गर्ने स्थान कहाँ हुन्छ भन्ने जिज्ञासा धेरैलाई छ । शेयर किनबेच हुने बजारलाई नै शेयर बजार भनिन्छ । स्टक एक्सचेन्जले शेयर बजारको काम गर्छ । नेपालको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्से नै एकमात्र शेयर बजार हो । किन्ने र बेच्नेको भेट हुन्छ, जहाँ शेयर विनिमय हुन्छ ।

उसका ५० वटा दलालहरुमार्फत किनबेचको काम हुन्छ । लगानीकर्ताहरु दलालहरुको कार्यालयमा जान्छन् र निश्चित प्रक्रिया पूरा गरेर शेयर किनबेचको काम गर्छन् । ५० वटा शेयर दलालको राजधानी र विभिन्न जिल्लाका थप ४१ ठाउँमा रहेका कार्यालयहरुमा लगानीकर्ताहरु गएर आफ्नो नाम दर्ता गराई शेयर कारोबार गर्न सक्छन् ।

यसरी शेयर खरिद बिक्री हुने स्थान वा ठाउँलाई शेयर बजार भनिन्छ । तर यति नै भनाइले शेयर बजारको बारेमा बुझ्न सकिँदैन । शेयर बजारको बारेमा पूर्ण ज्ञान लिनलाई पहिला हामीले शेयर के हो भन्ने बुझ्नुपर्दछ ।

शेयर भन्नाले कम्पनीको पुँजीको सबैभन्दा सानो इकाइ वा अंश हो । यसको अंकित मूल्य तोकिएको हुन्छ । नेपालमा धेरैजसो कम्पनीको प्रतिइकाइ मूल्य १०० रुपियाँ तोकिएको छ भने कतिपय कम्पनीको १० रुपियाँ पनि इकाइ मूल्य छ । सोल्टी होटल र सामूहिक लगानी कोषहरुको प्रतिइकाइ मूल्य १० रुपियाँ छ भने अरुको १०० रुपियाँ छ । कुनै कम्पनीको एक करोड चुक्ता पुँजी छ भने यसको पुँजीलाई १०० रुपियाँले भाग गर्दा एक लाख कित्ता शेयर हुन्छ ।

कम्पनीका मालिकहरुले लगानी गरेको पुँजीलाई शेयर पुँजी भनिन्छ । संयुक्त पुँजी कम्पनी सञ्चालनका लागि ठूलो मात्रामा पुँजीको आवश्यकता पर्दछ । जुन पुँजी संकलन संस्थापक शेयरधनीहरुबाट मात्र सम्भव हुँदैन । कम्पनी स्थापनाका लागि प्रारम्भिक कार्यहरू प्रवद्र्धकहरुबाट सम्पन्न हुन्छ ।

प्रवद्र्धकहरुले कम्पनीको दर्ता गरी कम्पनीको विकास र विस्तारका लागि आफूसँग भएको रकमले नपुग्ने भएपछि पुँजी संकलनका लागि सार्वजनिकरुपमा शेयर आह्वान गर्नुपर्दछ । शेयर आह्वान गर्दा राज्यले तोकेको केही सर्तचाहिँ पालना गर्नुपर्छ । यसरी कम्पनीको विकास र विस्तारका लागि शेयर बिक्री गरेर संकलन गरेको पुँजीलाई शेयर पुँजी भनिन्छ ।

पुँजी संकलनका लागि शेयर जारी गर्नुअघि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपियाँभन्दा बढी रकमको शेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट वा अन्य यस्तै एजेन्सीबाट पनि रेटिङ गराउनुपर्दछ ।

कम्पनीको वित्तीय अवस्थाको सबलताको आधारमा १, २, ३, ४ र ५ नम्बर रेटिङ दिइने गरिन्छ । इक्रा नेपालले कम्पनीको रेटिङ १, २ र ३ नम्बर दिएको छ भने कम्पनीको वित्तीय अवस्था सबल र राम्रो छ भन्ने बुझिन्छ भने ४ र ५ नम्बर रेटिङ दिएको छ भने कम्पनीको वित्तीय अवस्था सन्तोषजनक छैन भन्ने बुुझ्नुपर्छ । यस प्रकार कुनै पनि कम्पनीको प्राथमिक शेयरमा लगानी गर्दा कम्पनीको रेटिङ नम्बर राम्रो भएको कम्पनीमा लगानी गर्दा राम्रो हुन्छ ।

– सञ्जीव रायमाझी, गोरखा ।

कांग्रेसले आन्दोलन गर्दा बुझ्न नसकेका कुरा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध संघर्षको बिगुल जताततै फुकेको छ । सरकारका काममा देखिएको कमजोरी र भ्रष्टाचारका कारण देशमा समस्या व्याप्त भएको आरोप लगाउँदै कांग्रेस सडक संघर्षमा छ ।
देशभरका ७७ वटै जिल्लाहरुमा एकसाथ सरकारविरुद्ध सडक संघर्षको घोषणा गरेको छ कांग्रेसले । कोरोना महामारीकै बीच प्रमुख प्रतिपक्षी दलका प्रमुख नेताहरुसहित सडकमा आएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेसले आन्दोलन घोषणा गरेको हो ।

विश्वभर कोरोना महामारी फैलिएर शक्ति राष्ट्रहरु नै हायलकायल भइरहेका बेला नेपालमा कोरोना निर्मूल भएकै हो त ? यस्तो जटिल परिस्थितिमा पनि प्रमुख जिम्मेवार दल नेपाली कांग्रेस नै गैरजिम्मेवार बनेको देखिएको छ । कोरोना संक्रमण फैलिँदा देशलाई हुने नोक्सानी र संकटका विषयमा कांग्रेसले किन बुझ पचाएको हो ? सरकारले स्वाभाविकरुपमा कमजोरी गरेको छ । जनअपेक्षाअनुरुप काम गर्न सकेको छैन । यद्यपि यस्तो संकटमा सबै मिलेर सरकारलाई खबरदारीसँगै कोरोना नियन्त्रणमा ध्यान दिन जरुरी छ ।

– शंकर सुनाम, अर्घाखाँची ।

प्रतिक्रिया दिनुहोस्