सबै वडामा आधारभूत स्वास्थ्य सेवा

0
Shares

स्याङ्जा, (नेस) ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरबासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँ–गाउँमै पुर्‍याउने उद्देश्यले केन्द्रीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको हो । ‘नगरपालिकाका केही वडामा स्वास्थ्य संस्था रहे पनि चारवटा वडा स्वास्थ्य संस्थाविहीन थिए’, नगर प्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो– ‘नभएका वडाहरुमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेका छौं ।’

नगरपालिकाका १४ वटा वडामा हाल १७ वटा स्वास्थ्य संस्था रहेका छन् । जसमा १५ शैय्याको गह्रौं प्राथमिक अस्पतालसहित ९ वटा स्वास्थ्य चौकी र ७ वटा शहरी स्वास्थ्य केन्द्र रहेको नगर प्रमुख खाँणले बताउनुभयो । स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरु प्रदान गर्ने गरी अगाडि बढिएको उहाँको भनाइ छ । वालिङमा १५ शैय्याको गह्रौं प्राथमिक अस्पताल सञ्चालनमा रहेको र १५ शैय्याको वालिङ नगर अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पूर्वाधारहरु निर्माणको क्रममा रहेकाले वालिङलाई ‘शैक्षिक र मेडिकल कलेजको हब’ का रूपमा विकास गर्ने उद्देश्य रहेको नगर प्रमुख खाँणको भनाइ छ ।

हाल वालिङका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रमार्फत आधारभूत स्वास्थ्य सेवाअन्तर्गत बिरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवालगायतका सेवाहरु रहेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । त्यस्तै, गह्रौं प्राथमिक अस्पतालमा आकस्मिकलगायतका दैनिक बिरामी जाँच सेवा, एक्सरे सेवा, २४सै घण्टा दन्त तथा आँखा परीक्षण सेवासहितका जनस्वास्थ्यसँग सम्बन्धित सेवाहरु प्रदान भइरहेको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।