यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान

0
Shares

अमृत अर्याल, स्याङजा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजानिक स्थल तथा सार्वजानिक सवारी साधानमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान शुरु गरेको छ । अभियान अन्तर्गत प्रहरीले सार्वजानिक सवारी साधनहरुमा सवार यात्रु, चालक तथा सहचालकहरुलाई सचेतनामुलक पर्चाहरु वितरण गरिएको हो ।

कसैलाई पनि यौन दुव्र्यवहार नगरौँ, सभ्य र असल नागरिकको परिचय दिऔँ भन्ने नाराका साथ प्रहरीले सेफ्टी पिन क्याम्पियन शुरु गरेको हो । महिलालाई सम्मान गर्ने, कुनै प्रकारको दुव्र्यवहार नगर्र्ने, सार्वजानिक स्थल तथा यातायातका साधनहरुमा करणीको आशयले महिलाहरुलाई छुने लगायतका अशोभनिय व्यवहार नगर्न प्रहरीले आग्रह गरेको छ ।

महिलाहरुलाई घुरेर हेर्ने, आँखा भिम्क्याउने र अश्लिल शब्दहरुको प्रयोग गर्ने नगरौँ, सार्वजानिक सवारीमा भाडा लिँदा वा दिँदा अस्वाभाविक रुपमा महिलाहरुलाई छुने नगरौँ, सार्वजानिक यातायातमा महिलासंगै बस्दा यौनका आशयले शरिमा छुने, यौनजन्य सामाग्री देखाउने, अंगालो हाल्ने, यौनजन्य प्रस्ताव राख्ने कार्य नगरौँ, सार्वजानिक स्थानमा दुव्र्यवहार तथा हिंसा भएमा नजिकको साथीभाई, अन्य व्यक्तिको सहयोग लिने, ठाउँ छोडने, कडा भाषा वा कुनै किसिमको प्रतिकार गर्ने, अझ असुरक्षित महशुस भएमा प्रहरीलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

यस्ता कार्य तथा कसुरहरु कसैले सार्वजानिक स्थल वा सार्वजानिक यातायातका सवारी साधनहरुमा गरेमा तत्काल प्रहरीको फोन नम्बरमा सम्पर्क गर्ने अनुरोध सहितको पर्चाहरु प्रहरीले यात्रु, चालक तथा सहचालकहरुलाई वितरण गरेको छ । प्रहरी नगर्न भनेका यस्ता क्रियाकलाप गरेमा ३ वर्ष कैद वा ३० हजार सम्म जरीवाना हुने प्रहरीले जनाएको छ ।