व्यापारीले नै नष्ट गरे १ लाख बराबरको अखाद्य वस्तु

0
Shares

विनोदसिंह विष्ट, बैतडी ।

बैतडीका एक व्यापारीले म्याद नाघेको १ लाख बराबरको पेय पदार्थ बुधबार आफैंले नष्ट गरेका छन् । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारी रघुवीर थापाले आफ्नो पसलको गोदाम घरमा रहेका १ लाख बराबरको पेय पदार्थ नष्ट गर्नुभएको हो ।

लकडाउनका कारण लामो समयदेखि पसल बन्द भएपछि १ लाख बराबरको पेय पदार्थको म्याद नाघेपछि नष्ट गर्नुभएको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘लकडाउन हुनुभन्दा पहिला नै भारतबाट ल्याइएको पेय पदार्थ पिउन योग्य नभएपछि नष्ट गरिएको हो ।’ नष्ट गरिएको पेय पदार्थमा कोक र फ्यान्टा रहेका छन् ।’

४५ पेटीभन्दा बढी म्याद नाघेर पिउन योग्य नभएपछि उक्त पेय पदार्थ व्यापारी आफैंले नष्ट गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘व्यापारी आफैंले अखाद्य वस्तु नष्ट गर्नु निकै राम्रो पक्ष हो ।’

पछिल्लो समय जिल्लाका बजार अनुगमन कार्य कडाइका साथ गरिएकाले व्यापारी सचेत हुन थालेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको भनाइ छ । अखाद्य वस्तु बिक्री–वितरण गरेको पाइएमा व्यापारीलाई मुद्दासमेत चलाउन थालेपछि व्यापारी सचेत हुने थालेको उहाँको कथन छ ।

बैतडीमा संयुक्त बजार अनुगमन समितिले चालू आर्थिक वर्षको हालसम्म जिल्लाका विभिन्न बजारमा अनुगमन गर्दा ८ लाख बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरिसकेको छ ।