एमसीसीको विरोधमा वैद्य माओवादीको प्रदर्शन

0
Shares

नेपाल समाचारपत्र, बाँके

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले एमसीसीको विरोधमा नेपालगन्जमा प्रदर्शन गरेको छ । झण्डा ब्यानरसहित ठूलो संख्यामा रहेका वैद्य माओवादीका नेता तथा कार्यकर्ताले एमसीसी राष्ट्रघाती भएको भन्दै चर्को विरोध गरेका थिए ।

नेपालगञ्जको कोरियनपुरस्थित आपबगियाबाट निस्केको नारा–जुलुससहितको प्रदर्शन बीपीचोक हुँदै धम्बोझीचोकसम्म पुगेको थियो । वैद्य माओवादीका नेता तथा कार्यकर्ताले एमसीसीसँगै महँगी र भ्रष्टाचारविरुद्ध आवाज उठाएका थिए ।

उनीहरुले भारतले अतिक्रमण गरेको नेपाली भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउन माग गरेका छन् । धम्बोझीमा भएको कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्यद्वय भूपेन्द्र न्यौपाने र नेत्र शाहीले एमसीसी, महँगी, भ्रष्टाचारसँगै संसदीय व्यवस्थाकै विरोध गर्नुभएको छ ।

सत्तासीन नेकपाको आन्तरिक झगडा चलिरहँदा पछिल्लो समयमा विभिन्न पार्टी वा समूहका नाममा जुलुस निस्किन थालेका छन् । नेपालगन्जमा ठूलोमध्येकै उपस्थितिमा राष्ट्रवादी समूहले प्रदर्शन गरेको केही समयपछि वैद्य माओवादीले पनि बाक्लो उपस्थितिमै प्रदर्शन गरेको हो ।