हप्तामा दुई दिन सार्वजनिक बिदा…?

0
Shares

काठमाडौं, (नेस)

सरकारी अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले यस्तो सिफारिस गरेको हो ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरे, अर्थ मन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो ।

सिफारिसमा आन्तरिक पर्यटन प्रवद्र्धन सार्वजनिक खर्चमा कटौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि सो निष्कर्ष निकालिएको जनाइएको छ ।

मन्त्रालयले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने भन्दै सातामा दुई दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो ।

व्यावसायिक र व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन नसकेको अवस्था बढ्दो क्रममा रहेकाले सातामा दुई दिन बिदा दि“दा बालबच्चाको रेखदेख, स्याहारसुसारमा समेत पर्याप्त समय दिन नपाएको अवस्थालाई सम्बोधन गर्नुपर्ने समितिले उल्लेख गरेको छ ।

६ दिनको अवधिमा सातामा ४० घण्टा काम गर्नुपर्ने अहिलेको प्रावधानभन्दा ५ दिनको काम गरेर सातामा ४० घण्टा कार्य अवधि पूरा गर्दा कम खर्चिलो हुने तर्कसमेत समितिको छ । अहिले नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ ।