संगीतकर्मी संघ काभ्रेमा पुनः चन्द


काभ्रे, (नेस)

बनेपामा सम्पन्न राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले अमरकृष्ण चन्दलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कलाकारहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले पुनः कलाकार निर्देशक अमरकृष्ण चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा सविता ढुंगाना, उपाध्यक्षमा शर्मिला लामा थिङ, सचिवमा मधु लामा, सहसचिवमा अनिशा तामाङ, कोषाध्यक्षमा केदार न्यौपाने, सहकोषाध्यक्षमा विनीता सिञ्जाली मगर तथा सदस्यहरुमा अशोक दाहाल, भगवान् खत्री, सन्तोष तामाङ, शुभद्रा ढंगाना, पुजन धिताल, सुन्दरी तामाङ निर्वाचित भएका छन् ।

संस्थाका जिल्ला अध्यक्ष अमरकृष्ण चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव दिनेश लामाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सविता ढुंगानाले आर्थिक प्रतिवेदन पेस गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले चाँडै नै धुलिखेलमा एकेडेमी बनाउन लागेको बताए। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काभ्रे जिल्लामा चलचित्र छायांकनको मुख्य हब बनाउने योजना रहेको बताए।

कार्यक्रममा बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र राष्टिङय संगीतकर्मी संघका केन्द्रीय महासचिव एवं कलाकार विक्रमजंग शाहलाई सम्मान गरिएको थियो।