शेयर बजारको पुँजी २७ खर्ब ५५ अर्बभन्दा माथि


नेपाल समाचारपत्र, काठमाडौं

अन्तिम कारोबार दिन बिहीबारबाहेक सबै दिन बढेको यस साताको शेयर कारोबारमा विगतका सबै रेकर्ड तोडिएर नयाँ रेकर्ड कायम भएको छ ।

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक हालसम्मकै उच्च बिन्दु २०७१ दशमलव शून्य ३ बिन्दुमा पुगेको छ । यद्यपि, साताको अन्तिम कारोबार दिनमा करेक्सन हुँदा नेप्से २०५५ दशमलव ४६ बिन्दुमा झरेको छ । बुधबार २०७१ दशमलव शून्य ३ बिन्दुमा रोकिएर हालसम्मको उच्च बिन्दु रहे पनि नेप्से २११८ दशमलव ६३ बिन्दुसम्म पुगेको थियो।

त्यस्तै साताको पहिलो दिन आइतबार ९ अर्ब २३ करोड रुपियाँभन्दा बढीको शेयर किनबेच भएर हालसम्मकै उच्च कारोबार भएको रेकर्ड कायम भएको छ । साताभरको कारोबारमा नेप्से परिसूचक साढे ८ प्रतिशत अर्थात १६२ अंकभन्दा बढीले वृद्धि हुँदा नेपालको शेयर बजारको समग्र बजार पुँजीकरण २७ खर्ब ५५ अर्ब रुपियाँभन्दा बढी पुगेको छ ।

त्यस्तै यस साता सेन्सेटिभ इण्डेक्स पनि उल्लेख्य बढेको छ। अघिल्लो साता ३६५ दशमलव १८ बिन्दुमा बन्द भएको सेन्सेटिभ इण्डेक्स यस साता ७ दशमलव ४२ प्रतिशत अर्थात २७ दशमलव ११ अंक बढेर ३९२.२९ बिन्दु पुगेको छ । नेप्से र सेन्सेटिभ इण्डेक्ससँगै यस साता कारोबार रकम पनि बढेको छ ।

अघिल्लो साता ३१ अर्ब ५४ करोड रुपियाँबराबरको शेयर कारोबार भएको शेयर बजारमा यस साता १० करोड ११ लाख कित्ताभन्दा शेयर ४० अर्ब ९८ करोड रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ । यस आधारमा दैनिक औसत ८ अर्ब १९ करोड रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

यसैगरी यस साता सबैभन्दा धेरै माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साताभरीमा ४६ प्रतिशतभन्दा बढीले बढेको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ता रहेका छन् ।

यस कम्पनीको शेयर मूल्य ह्र्वारह्र्वाती बढे पनि अघिल्लो साताको तुलनामा २९ प्रतिशतको हाराहारीमा मात्रै बढेको छ । समग्र परिसूचक बढेको बेलामा पनि साल्ट ट्रेडिङ कम्पनी र विशाल बजार कम्पनीका लगानीकर्ताले करिब २५ प्रतिशतको हाराहारीमा गुमाएका छन् ।