जाजरकोट ।
विगत १० वर्षको बीचमा भारी क्षति व्यहोरेको जाजरकोट बल्ल लयमा आएको छ । स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासका साथै गाउँमा जोडिएका सडकले यहाँको स्वास्थ्य क्षेत्र सुधारिएको हो ।
कहिले झाडापखाला त, कहिले भाइरलका कारण समस्या भोगिरहने जाजरकोट पछिल्ला दुई वर्षमा सो दर शून्यमा झरेको छ । स्वास्थ्य क्षेत्रमा बढेको जनचेतना र राज्यको लगानी भित्रिएपछि जाजरकोटले स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको छ ।
दुई वर्षअघि डोकोको सहारामा पिठ्युँमा बिरामी बोक्ने जाजरकोटका गाउँमा अहिले यातायातका साधनमै सजिलैसँग स्वास्थ्य संस्था पुग्न थालेको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंहको भनाइ छ । उहाँ भन्नुहुन्छ, “भर्खरै मात्र १५ शय्याको अस्पताल शिलान्यास भएको छ । प्रशासकीय केन्द्रलगायत तल्लो क्षेत्रमा सडक सञ्जालले छोएपछि आम मानिस सजिलै स्वास्थ्य संस्था जान र आउन सक्ने भएका छन् ।”
“पहिले बारेकोटबाट बिरामी बोकेर सदरमुकाम ल्याउन दुई दिनभन्दा बढी लाग्ने गर्दथ्यो” उहाँले थप्नुभयो, “अहिले अधिकांश औषधि लिम्सालगायत सबै वडामा रहेका स्वास्थ्य संस्थामा पाइने गरेको छ ।” झाडापखालाको समयमा बढी थलिएको बारेकोटमा अहिले स्वास्थ्य सूचक जिल्लाकै एक नम्बर भएको छ । सदरमुकाममा ५० शय्याको अस्पताल निर्माण शुरुसँगै नयाँ आशाका किरण पलाएको नागरिक अगुवा सहदेव बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा ५० शय्याको अस्पताल सुर्खेतपछि जाजरकोटमा निर्माण हुन लागेको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल मात्र भएको सन्दर्भमा जाजरकोटमा ५० शय्याको अस्पताल निर्माण शुरु भएको छ ।”
हालका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री रहँदा विसं २०७३ जेठ १० गते ५० शय्यामा स्तरोन्नति भएको भनी उद्घाटन गरिएको थियो । अहिले जिल्लाको शिवालय, नलगाड, छेडागाड र बारेकोटमा १५ शय्याको अस्पताल उद्घाटन गरी सेवा शुरु गरिएको छ । स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्था कसले राम्रो बनाउने विषयमा होडबाजी छ । औषधि पसलको सहारामा चलेको जाजरकोटको स्वास्थ्य सेवा विस्तारै सरकारी सेवाको पकडमा आएको आम नागरिक बताउँछन् ।
धामी, झाँक्रीको भरोसा मान्ने समाज स्वास्थ्य सेवाप्रति विश्वस्त हुँदै आएको छ । असुरक्षित तरिकाले गोठमा सुत्केरी हुन बाध्य पार्ने जाजरकोटको कुनाकन्दराका गर्भवतीहरु अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुँदा सो दरसमेत ह्वात्तै बढेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले बताएको छ ।
अन्य क्षेत्रभन्दा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सबै सरोकारवाला सहमत मात्र भएका छैनन्, जिल्लामै डिप्लोमा इन फार्मेसी पढाइसमेत शुरु भएको छ । गाउँगाउँमा भारी मात्रामा पाइने औषधि पसल विस्थापित भएका छन् । औषधि पसलमा जथाभावी औषधि सेवन गर्दा सरकारी स्वास्थ्य सेवाबाट पाइने औषधिले काम नगर्ने समस्या अहिले मेडिकल विस्थापितसँगै हल भएको छ । जाजरकोटमा पहिलोपटक लागेको झाडापाखालबाट सरकारी रेकर्डअनुसार १६६ जनाको मृत्यु भएको थियो । दोस्रोपटक २९ जनाले ज्यान गुमाएका थिए ।
आशा जगाउने सरकारी कार्यक्रम
सरकारी स्वास्थ्य संस्था पहुँचमा नहुँदा सर्वसाधारणबाट गुमेको विश्वास अहिले आर्जन भएको छ । सरकारी स्वास्थ्य संस्थाभन्दा मेडिकलमा गएर उपचार गर्ने नागरिक अहिले स्वास्थ्य संस्थामा भीड लाग्ने गरेको छ । स्थानीय सरकारको गतिशील योजनाले सबैको ध्यान तान्न मद्दत गरेको स्थानीयवासी बताउँछन् ।
स्थानीय सरकारले एम्बुलेन्समार्फत बिरामीलाई स्वास्थ्य संस्था पुर्याउँदा झन् निम्न अवस्था भएका आम नागरिकलाई सरकारी सेवाप्रति मन तानेको छ । निम्न अवस्था भएका बिरामी, शारीरिक अशक्तलाई स्थानीय सरकारले कार्यपालिकाको बैठकबाट आर्थिक सहायता गर्दा सरकारको अनुभूति सिर्जना भएको हो । कस्ता व्यक्तिलाई एम्बुलेन्स निःशुल्क सहयोग गर्ने भनी कार्यविधि नै बनाइएको छ । सबै पालिकाले आफ्नो क्षेत्रभित्र एमबिबीएस पढ्ने विद्यार्थीलाई आर्थिक सहायतासमेत दिने गरेका छन् । पैसा अभावकै कारण पढ्न नपाउने अवस्थाको अन्त्य गर्न सो व्यवस्था गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो ।
प्रतिक्रिया