सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

0
Shares

काठमाडौं ।

धनुषा, दाङ, बर्दिया, सर्लाही र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

धनुषा, हँसपुर नगरपालिका-५ वेल्हीस्थित सडकमा ज.९ प ५९९१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय जोगी यादवको बिहीबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङ, लमही नगरपालिका-८ सतबरियास्थित सडकमा रा.३ प ७५६० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही नगरपालिका-७ कप्तानगंज बस्ने ५२ वर्षीय पुरन बाठा मगरको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक लमही नगरपालिका-८ धनपुरुवा बस्ने २६ वर्षीय लिला बहादुर चौधरीलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

बर्दिया, मधुवन नगरपालिका-४ माचड चोकमा ना.८ ख ३१४ नम्बरको टिपर र बा.१६ च २४५३ नम्बरको कार एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा कारमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरेन्द्र गोडिया र १८ वर्षीया निधि सुनार रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरुको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कार चालक समेत ३ जना सोही अस्पताल हुँदा थप उपचारको लागि नर्सिङहोम नेपालगंज बाँकेतर्फ रिफर गरिएको छ । टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा अन टेस्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलकमा सवार मकवानपुर, मकवानपुर गढि गाउँपालिका-६ बस्ने २५ वर्षीय मेलिना तिमल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको थप उपचारका लागि मोडल अस्पताल लालबन्दीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धादिङ थार्के गाउँपालिका-८ बस्ने ३२ वर्षीय बिश्वमणि गजुरेलको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-१४ तल्लो रानीबासमा प्रदेश २-०२-००१ ह ६८७ नम्बरको अटो अनियन्त्रित भई सडकको नालामा पल्टिएर बिहीबार राति दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-६ बस्ने ४० वर्षीय हेम कुमरका ३ महिनाको छोरा भुबन कुमरको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको सुभस्वस्तिक अस्पतालमा बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका हेम कुमर समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।