अवैध लागूऔषध सहित पक्राउ

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित एमाउन्ट धौलागिरी ग्यारेजबाट ११ ग्राम अवैध लागूऔषध ब्राउनसुगर, नगद ७३ हजार रुपैयाँ, २ थान डिजिटल तौल मसिन, १ थान मोटरसाइकल र ४ थान मोबाइल सहित काठमाडौं बनस्थली बस्ने गोरखा भिमसेन गाउँपालिका-७ घर भएका ३० वर्षीय राजु ढकाल लगायत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ग्यारेजमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी प्रभाग गोगबुबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ सुविधानगरबाट २ सय ७० चक्की नियन्त्रित लागूऔषध नाइट्राभेट सहित भक्तपुर दुवाकोट डेरा गरी बस्ने काभ्रे कालढुङगा घर भएका २५ वर्षीय जिवन बोलखेलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ ।

सुनसरी, धरान उपमहानगरपालिका- १० धर्मपथ बस्ने ४८ वर्षीय पुर्ण बहादुर लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने ५० वर्षीय साखुरा लिम्बुलाई नियन्त्रित लागूऔषध एकसय एमएलको ३६ थान डाइलेक्स डिसी, ७२ क्याप्सुल स्पास्मो प्रोक्सभिन, १ थान ईयर गन, १ थान तरवार, २ थान चक्कु र प्लाष्टिकको १ थान नक्कली पेस्तोल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरुले घरमा लागूऔषध संचित गरी राखेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध र हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङ, गजुरी गाउँपालिका-२ मलेखु बजारबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-१ बस्ने ४० वर्षीय खिलमान बुवाजु र दाङ लमही नगरपालिका-५ बस्ने २१ वर्षीय प्रकाश गाह मगर रहेका छन् । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले बा.३ ख २३९४ नम्बरको हाइसलाई जाँच गर्दा हाइस चालक खिलमान र सहचालक प्रकाशले लुकाई राखेको उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

बैतडी, पुर्चौडी नगरपालिका-६ मुडेली धारबाट करिब १० किलो अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित पुर्चौडी नगरपालिका-४ शिबाओ घर भई हाल बझाङ बुङ्गल नगरपालिका-९ बस्ने ३० वर्षीय मान बहादुर धानुकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

झापा, झापाको बिभिन्न स्थानबाट ४८ ग्राम ५ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका-६ बस्ने २५ वर्षीय आशिष थापा र बुद्धशान्ति गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रिन्स खनाल रहेका छन् ।

बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले झापा बिर्तामोड नगरपालिका-५ बिहानी टोलबाट प्र.१-०१-०१३ प २७०१ नम्बरको मोटरसाइकल र ९ ग्राम ५ मिलीग्राम ब्राउनसुगर सहित थापा र अर्जुनधारा नगरपालिका-९ प्रणामी मन्दिर नजिकबाट मे.५ प ९२५६ नम्बरको मोटरसाईकल र ३९ ग्राम ब्राउनसगुर सहित खनाललाई पक्राउ गरेको हो । उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।