जग्गाको नक्कली कागजात बनाइ जग्गा पास गर्ने गिरोहका सदस्य पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज।

पर्साको वीरगन्जमा ५० करोड बराबरको जग्गाको नक्कली कागजात बनाएर रजिष्ट्रेशन प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले थप केही ब्यक्तिहरुलाई पक्राउ गरेको छ ।

५० करोडको जमिनको ५० लाख रुपैया बैना दिएका गिरधारीलाल अग्रवाललाई पर्सा प्रहरीले बिहिवार पक्राउ गरेको छ । जग्गा प्रकरणमा अग्रवालको संलग्ताको बारेमा अनुसन्धान गर्नु पर्न भएकोले उनलाई पक्राउ गरिएको हो । जग्गा प्रकरणमा उनको समेत संलग्नता देखिएकोले उनलाई पनि पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानकै क्रममा मालपोत कार्यालयका लेखनदासहरु प्रमेश प्रसाद र अमर कुमार गुप्तालाई पक्राउ गरीसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो काठमाडौँले यसै प्रकरणका मुख्य अभियुक्त मुकेशराज भण्डारी बनेका केवल प्रदान (जंगबहादुर राणा) लाई असोज २५ मा काठमाडौँबाट पक्राउ गरी पर्सा प्रहरीको जिम्मा लगाएको थियो ।

वीरगन्ज मालपोत कार्यालयले नक्कली कागजातको आधारमा मर्कन्टायलको कार्यालय रहेको होटेल मकालुको पार्किङ भन्दा दक्षीणमा रहेको ५० करोड मूल्य बराबरको जमिन रजिष्ट्रशन पास गरिएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित कित्ता नं. ७१ को ३२५ वर्गमिटर, कित्ता नं. ३ को १२७३.८ वर्गमिटर, कित्ता नं. १८६ को १०३.४ वर्गमिटर र कित्ता नं.१४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फाल्गुण १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा रजिष्ट्रशन पास गरेको थियो ।

गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारी तीन सन्तान । नक्कली कागजात बनाउने गिरोहले गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारीका जेष्ठ सुपुत्र मुकेशराज भण्डारीको नाममा नामसारी माग गर्दै मालपोत कार्यालयमा ०७६ माघ २९ गते नामसारीको लागि निवेदन दिएका थिए । मुकेश राजभण्डारी जेठो छोरोलाई नेपालमा रहेको देखाइएको थियो ।

अन्य दुई भाई राकेश राजभण्डारी, रूपेश राजभण्डारी अष्ट्रेलिया रहेको देखाइएको छ । अष्ट्रलियमा रहेका दुई भाइले त्यही बाट दाजु मुकेशराज भण्डारीको नाममा जग्गा नामसारीको मन्जुरीनामा त्याहा रहेको दुतावास मार्फत पठाएको कागजात तयार पारेर जग्गा नामसारी गरिएको थियो । तयार पारिएका सम्पूर्ण कागजातहरु नक्कली थिए ।