अपाङ्गता भएका व्यक्तिहरुको एउटै स्वर : “हामीलाई सरकारले हेरेन”

28
Shares

भूपराज बस्याल, स्याङ्जा ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर विभिन्न ठाउँमा धुमधामसंग कार्यक्रम भैरहेता पनि स्याङ्जाको गल्याङ नगरपालिका भित्र रहेका अपाङ्गता भएकाहरुले भने सरकारले अपाङ्गताको लागि दिन भनेको सेवा सुबिधा नपाएको गुनासो गरेका छन् ।

गल्याङ नगरपालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुले केही रकम संकलन गरेर बिहीवार नगरपालिका भित्रका प्रतिनिधिहरुलाई जम्मा गरेर चिया नास्ता खुवाउदै यस्तो गुनासो गरेका थिए । अपाङ्गता भएका ब्याक्तीहरुले एक पर्वको रुपमा मनाउने अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आफुहरु खुसी हुनको लागि पहिला जनप्रतिनिधिलाई खुसी पार्नुपर्ने हुँदा यस्तो गरिएको उक्त चियापान कार्यक्रमका आयोजकको गुनासो थियो । सामान्य नागरिकलाई भन्दा नगरपालिकाले आफुहरुलाई गर्ने ब्यवहार, दिनुपर्ने सहयोगमा कुनै परिवर्तन नभएको उहाँहरुको गुनासो थियो ।

स्याङ्जा दृष्टिबिहिन संघ, स्याङ्जा अपाङ्ग समाज र गल्याङ नगरपालिका स्तरीय अपाङ्ग संजालको सयुक्त आयोजनामा गल्याङ नगरपालिका उपप्रमुख देबि थापाको प्रमुख आतिथ्यमा उक्त नगरपालिकाको वडा नम्बर सातको सैनथुम्का गाउँमा उक्त कार्यक्रम गरिएको थियो । अपाङ्गको क्षेत्रमा राज्यले दिन भनेको बजेट समेत नदिका कारण गाउँमै कार्यक्रम गरिएको थियो । हालको कोभिडको परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रममा अपाङ्गता भएका ब्याक्ती, जनप्रतिनिधि र केही अपाङ्गता सस्थाका जिल्ला प्रतिनिधि भन्दा अन्यलाई निमन्त्रणा गरिएको थिएन ।

कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका ३ का अध्यक्ष महेश भट्टराईले फरक क्षमताको पहिचान गरि रोजगारीको सिर्जना गर्न आफू तयार रहेको बताउनुभयो । आफ्नो वडामा अपाङ्गता भएका ब्यक्तिले संचालन गरेको अगरबत्ती तथा मैन बत्ती उधोगलाई वडा कार्यलयले आर्थिक सहयोग स्मरण गराउदै उहाँले फरक क्षमता भएका हरुको क्षमता पहिचान गरि सहयोग गर्ने अभियानमा आफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो ” फरक क्षमता भएका हरुको लागि सहयोग गर्न आफू सधै तत्पर रहेको पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । फरक क्षमताको पहिचान गरि उध्यामसिल बनाउन बनाउनको लागि वडा नम्बर तिनले अभियान सुरु गरेको हुँदा अब सबै वडा र नगरपालिकाले यो अभियानलाई अगाडी बढाउनु पर्ने बताउनुभयो । आफ्नो मत होइन मन दिएर पठाएको हुँदा जनप्रतिनिधिले फरक क्षमता भएका ब्याक्तीहरुको सेवामा काम गर्नुपर्ने उहाँको धारणा थियो ।

स्वागत मन्तव्य राख्दै गल्याङ नगरपालिका स्तरीय अपाङ्ग संजालका उपसंयोजक नारायण भण्डारीले पालिकाले अपाङ्गता भन्ने नै नबुझेको भन्दै अपाङ्गता भएका ब्यक्तिप्रती गम्भीर हुन नगरपालिकालाई आग्रह गर्नुभयो । नगरपालिकाले अपाङ्गको क्षेत्रमा खर्च गर्ने बजेट समेत संजाललाई थाहा नभएको भन्दै अपाङ्गको क्षेत्रमा खर्च गरिने बजेट कहाँ खर्च गरिएको छ भन्दै प्रतिप्रश्न गर्नुभयो । त्यस्तै स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष युवराज पराजुलीले अपाङ्ग भत्ता लिनैकै लागि हरेक तीन / तीन महिना आन्दोलन गर्नुपर्ने सरकारबाट भाषण भन्दा अरु आश गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ” अपाङ्ग परिचयपत्र त क्वालिटिको दिन नसकेको सरकारबाट के आशा गर्नु ।”

गल्याङ नगरपालिका स्तरीय अपाङ्ग संजालका अध्यक्ष तथा कार्यक्रमका सभापति यमलाल पाण्डेले आफ्नो सस्थाले नगरपालिकालाई बुझाएका मागहरु तत्काल कार्यनयन गर्न आग्रह गर्नुभयो । केही महिना पहिले नगरपालिकालाई ज्ञापन पत्र बुझाएको स्मरण गराउदै उहाँले पालिका भित्र अपाङ्गको क्षेत्रमा हाल गर्नुपर्ने सम्पुर्ण काम समेटिएको बताउनुभयो । त्यस्तै कार्यक्रम प्रमुख अतिथि तथा गल्याङ नगर उपप्रमुख देबि थापाले नगरपालिकाले काम गर्ने क्रममा केही कमजोरी भए सच्याएर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । तपाईंहरुको समस्य वा तपाईंलेहरुले गर्न सक्ने कामका योजना लिएर नगरपालिका आउन उहाँको आग्रह थियो । “हामीले सबैतिर काम गर्दा ध्यान पुर्याउन सकिएन होला तर यहाँहरुको सुझावलाई मनन गर्दै आगामी दिनमा योजना बनाउने छौ ” उपप्रमुखको भनाइ थियो ।