जन्ती हिँडेका युवक भेटिए मृत

0
Shares

वीरगन्ज, (नेस)
पर्सामा जन्ती जान हिँडेका एक युवकको शव फेला परेको छ । जिल्लाको कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २६ वर्षीय एमामुल हुसैनको शव फेला परेको हो ।
नहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित नहरमा हुसैनको शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो । तीन दिनअघि धोबिनी गाउँपालिका–१ भिखमपुर जन्ती जान भनी साथीसँगै निस्केका उनी बेहुलीको घरमा नपुगेको आफन्तहरुले बताएका छन् । उनी बेपत्ता भएपछि आफन्तले खोजीकार्य गरेका थिए ।
सँगै जन्ती जान निस्केका साथीहरुले नै उनको हत्या गरेको हुन सक्ने आशंका मृतकका आफन्तले गरेका छन् । प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ । घोप्टो परेको अवस्थामा नहरमा शव भेटिएको र मृतकको दाहिने आँखा निकालिएको अवस्थामा शव फेला परेको प्रहरीकोे भनाइ छ । घटनाको विषयमा थप अनुसंधान जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।