‘शिक्षा नै समाज विकासको प्रमुख आधार’

0
Shares

नेपाल समाचारपत्र, बाँके

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिक्षा नै समाज विकासको प्रमुख आधार भएको बताउनुभएको छ । बिहीबार बाँकेको कोहलपुरमा स्थापना भएको नेपाल एपीएफ स्कुलको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सशस्त्र प्रहरी बलले सातै प्रदेशमा आफ्नो मातहतअन्तर्गत विद्यालय स्थापना गर्ने उद्देश्य अनुरूप कोहलपुरको बाँकेमा क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको हो ।

ज्ञान प्राप्तको पहिलो खुट्किलोका रूपमा रहेको विद्यालयलाई उद्देश्यमुखी बनाउनुपर्नेमा महानिरीक्षक खनालका जोड थियो । राष्ट्र सेवामा खटिएको सशस्त्र प्रहरी बलले सीमा सुरक्षा मात्र होइन संगठनमा आबद्ध भएका सन्ततिको उज्ज्वल भविष्यका लागि स्कुल सञ्चालनमा ल्याएको समेत उहाँको कथन छ ।

महानिरीक्षक खनालले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र सेवामा उदाहरणीय काम गर्न सकेमात्रै संगठनको साख रहने भएकाले सबै राष्ट्र सेवक एक भएर अगाडि बढ्समेत निर्देशन दिनुभयो ।

सोही कार्यक्रममा कोहलपुर नगरपालिकामा मेयर एलवी रावलले शिक्षा क्षेत्रमा सशस्त्र प्रहरी बलले लगानी गरेर पश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण काम गरेको बताउनुभयो ।

सो स्कुलका प्रिन्सिपल हरीशचन्द्र बुढाथोकीले स्कुलले सञ्चालन गर्दै आएको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक इन्द्रराज कार्कीले विद्यालयले सञ्चालन गरेको कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।

छाङरुदेखि ओलाङेहचुङगोलासम्म सशस्त्र प्रहरीको उपस्थिति रहेपछि सीमा क्षेत्रमा हुने अपराधका घटना निकै कम भएको प्रिन्सिपल बुढाथोकी बताउनुहुन्छ ।