युटाह र रोमानियापछि क्यालिफोर्नियामा देखियो धातुको खम्बा, एलियन्सद्वारा राखिएको दाबी


लस एन्जलस (एजेन्सी)

अमेरिको युटाहको मरुभुमीमा एकाएक देखिएको रहस्यमय धातुको खम्बा मोनोलिथ त्यहाँबाट गायब भएपछि फेरी अर्को ठाउँमा देखिएको छ । अमेरिकाको युटाहमा गायब भएपछि त्यस्तै खालको खम्बा रोमानियामा देखिएको र त्यहाँबाट पनि गायब भएको हो । अब उक्त रहस्यमय बनिरहेको धातुको खम्बा क्यालिफोर्नियामा देखिएको छ ।

क्यालिफोर्नियाको पाइन पहाडमाथि धातुको उक्त खम्बा भेटिएको स्थानिय सन्चार माध्यमले जनाएको छ । यो पहाड नजिकै अटासकाडेरो बस्ती छ । युटाह, रोमानिया र अहिले क्यालिफोर्नियामा यो अत्यन्त रहस्यमय धातुको खम्बा देखिएपछि यसलाई एलियनले राखेको हो वा केसैले ठट्टा गरिरहेको हो भन्ने विषयमा सबैको खुल्दुली बनेको छ ।

दुईवर्ष अघि यस्तै खालको खम्बा वासिंगटनको सियाटलमा पनि देखिएको थियो । क्यालिफोर्नियाको अटासकाडेरो समाचारमा भनिएको छ, त्रिकोणात्मक प्रिज्म आकारको धातुको खम्बा स्टिलले बनेको जस्तो देखिन्छ जुन १० फिट लामो र १८ इन्च चौडाइको छ । यो खम्बाको हरेक किनारबाट ताछिएको छ र टाढाबाट पनि धेरै चम्किलो देखिएको छ ।

हरेक कुनामा किला लगाइएको छ । खम्बालाई जमिनमा गाडेको देखिएको छैन । यसलाई बल लगाई ढाल्न वा उखेल्न सक्ने बताइएको छ । पहाडीको टुप्पामा कसले यो खम्बा लगाए ? यो अहिले सम्म स्पष्ट हुन सकेको छैन । यो पुरै इलाका पर्यटकहरुका लागि आकर्षक केन्द्र हो र धेरैले यसको तस्विर सामाजिक सन्जालमा पोस्ट गरिरहेका छन् । अखबारले स्थानिय अधिकारीहरुलाइ यो धातुको खम्बा लगाइएको बारेमा जानकारी रहेको जनाएको छ ।

यसअघि नोभेम्बरमा अमेरिकी राज्य युटाहको रेगिस्तानमा १२ फिट अग्लो धातुको खम्बा भेटिएको थियो । त्यसको नजिक पुगेका सर्वसाधारण देखि अनुसन्धानकर्ताका बीच , यो कहाँबाट आएको हो?, भन्ने प्रश्नलाई लिएर ब्यापक चर्चा परिचर्चा भएको थियो । यसलाई कलाको नमुना भन्ने देखि लिएर एलियनको काम भन्नेहरुसम्म आए ।

यद्यपी केही दिनपछि यो गायब भयो । त्यहाँबाट हराएको २४ घन्टापछि नै यो खम्बा युरोपको रोमानियामा देखियो । अब यो खम्बा त्यहाँबाट पनि गायब भएर अमेरिकाको क्यालिफोर्नियामा देखिएको छ । रोमानियामा देखिएको खम्बा करिब २ दशमलव ८ मिटरको थियो ।

स्थानिय पत्रकार रोबर्ट इसबले पुरानो किल्लाको इलाकामा पाइएको उक्त खम्बा जसरी गुपचुप तरिकाले लगाइएको थियो त्यसरी नै निकालिएको बताए । कुनै अज्ञात ब्यक्ती, सायद स्थानिय वेल्डरले बनाएको हुन सक्ने र अहिले त्यहा एउटा खाल्डो मात्र रहेको उनले बताए ।

युटाहमा खम्बा निकाले दावी

यसबीच युटाहको रेगिस्तानमा लगाइएको खम्बा कसरी गायब भयो भन्ने रहस्यबाट विस्तारै पर्दा उठिरहेको छ । एक टुर गाइड सिल्वन क्रिस्टेनसनले सामाजिक सन्जालमा आफुले तीन जना मिलेर १२ फिट अग्गो खम्बा हटाएको सामाजिक सन्जालमा दावी गरेका छन् । उनीहरुले यसको भिडियो पोस्ट गर्दै लेखका छन् , यदि तपाई आफ्नो सम्पत्ती कसैले लगोस् भन्ने चाहेको छैन भने त्यसलाई छोडेर नजानु राम्रो ।

क्रिस्टेनसनले डेलिमेलसँगको कुराकानीमा भने , हामीले युटाहको खम्बा निकाल्यौं, किनभने यस विषयमा आफ्नो सार्वजनिक जमीन, प्राकृतिक वन्यजीव, स्थानिय रुख, पानीको संसाधनको प्रयोग कसरी गर्ने भन्ने कुरा प्रष्ट छ । यो रहस्य एक भ्रम थियो र हामी यो मुद्दाको पछाडी के छ, सबैले हेरुन भन्ने चाहन्छौं । हामी आफ्नो सार्वजनिक जमीन गुमाइरहेका छौं । यस प्रकार कुराले मद्दत हुँदैन ।

यसअघि सन् १९६८ मा आएको वैज्ञानिक कल्पनामा आधारित आर्थर सी क्लार्कको किताबमा पनि यसै प्रकारका धातुका खम्बाको उल्लेख गरिएको छ । पछि यस किताबमा फिल्म पनि बनेको थियो । यसमा अन्तरिक्षमा आफ्ना साथीसँग सम्पर्क गर्न एलियन्सले यसता धातुका खम्बा लगाएको देखाइएको थियो ।

किताब र फिल्ममा यी धातुका खम्बा पृथ्वीमा प्राग ऐतिहासिक कालका एक जनजातीको बुद्धीमता विकास गराएको उल्लेख छ । सिधा रेखामा आधारिक खम्बा मोनोलिथ मानव बुद्धीमताको उदविकासका लागि प्रेरक मानिन्छ । यसै उदविकासको परिणाम आजको मानव विकास सम्भव भएको हो । धातुको यी खम्बाहरु दखिएपछि अहिले फेरी एक पटक उक्त किताबको चर्चा विश्वभरी भइरहेको छ ।