स्वयंसेवक दस्ता निर्माण र परिचालन स्वीकार्य : सर्वोच्च

सीके राउतको जित, सरकारी पक्ष पराजित


विकास भट्टराई, काठमाडौं

सर्वोच्च अदालतले हातहतियार तथा विस्फोटक पदार्थ प्रयोग नगरी राजनीतिक विचार धाराको उद्देश्य पूरा गर्न अन्तरक्रिया, कोणसभा, गोष्ठीलगायतका कार्य गर्न सक्ने स्पष्ट गरेको छ ।

न्यायाधीशहरु दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले एक मुद्दाको फैसलामा तयार पारेको पूर्ण पाठमा राजनीतिक विचारधाराको उद्देश्यपूर्तिका लागि अन्तरक्रिया, कोणसभा, गोष्ठीमार्फत जनचेतना जगाई स्वयंसेवक दस्ता निर्माण र परिचालन गरेको कार्यलाई कानुनविपरीत भएको मान्न नमिल्ने ठहर गरेको छ ।

तत्कालीन अवस्थामा स्वतन्त्र मधेस गठबन्धनका नेतृत्व गरिरहेको सीके राउतलगायत आठ जनालाई राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ गरेपछि पाँच वर्षअघि विशेष अदालतमा मुद्दा दायर भएको थियो । सो अदालतले राउतलाई सफाइ दिएपछि सरकारले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको थियो ।

सर्वोच्च अदालतले २०७६ साल भदौ ३ गते विशेष अदालतकै आदेशलाई सदर गरी राउतलगायतलाई सफाइ दिएको भए पनि फैसलाको पूर्ण पाठ हालै मात्र सार्वजनिक भएको छ । फैसलामा राष्ट्र, समाज, जनता एवं मानवताको हितका खातिर अभिव्यक्त गरिने वा सम्प्रेषण गरिने विचार र अभिव्यक्ति तथा संगठित हुने कार्य मौलिक हकअन्तर्गत राज्यद्वारा संरक्षित गरिएकोे उल्लेख छ ।

फैसलामा भनिएको छ– ‘यदि मौलिक हक संरक्षणको आवरणमा हातहतियार र बल प्रयोग गरी कुनै पनि कार्य गरिन्छ भने त्यस्तो अवस्थामा मात्र विचार र अभिव्यक्ति स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संघ संस्था खोल्ने स्वतन्त्रतासम्बन्धी हकको व्यापकताको हद समाप्त हुन गई कानुनी सीमाको हद शुरु हुन जान्छ ।’

राज्यका स्रोत, साधन र शक्तिको प्रयोगमा समान पहुँच, अवसर र अधिकार प्रदान गर्नुपर्ने, कानुनको नजरमा सबै नागरिक समान मानिनुपर्ने र कानुनको प्रयोगमा सबै नागरिकहरु बीच कुनै पनि किसिमको भेदभाव नहुनुपर्नेमा त्यसको विपरीत विभेदपूर्ण र असमान व्यवहार गरिएको छ भन्ने असन्तुष्टिका आवाजहरु प्रतिवादीहरुबाट आएकाले त्यसलाई राज्यविरुद्धको अपराध मान्न नमिल्ने सर्वोच्चले स्पष्ट गरेको छ ।

सर्वसाधारण जनता परस्पर मिलेर एक भई बसेको अवस्थामा कुनै किसिमले खलल, विघ्नबाधा, अवरोध र राज्यव्यवस्थाविरुद्ध दंगा, उपद्रव, उत्पात र अशान्ति हुन गई मधेस जनताविरुद्ध द्वेष र घृणा उत्पन्न गर्न सक्छ भनी मान्न नसकिने सर्वोच्चको फैसलामा उल्लेख छ ।

‘अन्तक्रिया, कोणसभा, गोष्ठी गर्नेजस्ता क्रियाकलाप विश्वव्यापीरुपमा स्वीकृत लोकतान्त्रिक मान्यता र व्यवहारअन्तर्गतका क्रियाकलापमा पर्दछन् । त्यस्ता गतिविधिहरुले प्रचलित राजनीतिक अभ्यासहरुको रुपमा मान्यता पाएका नै देखिन्छन्’ –सर्वोच्चको फैसलामा भनिएको छ ।