टाइसन र जोन्सले बराबरी खेले


वासिङ्टन, (एजेन्सी)

माइक टाइसन र रोय जोन्स जुनियरबीच भएको बहुप्रतीक्षित प्रदर्शनी बक्सिङ भिडन्त बराबरीमा टुंगिएको छ ।
नेपाली समयअनुसार आइतबार बिहान लस एन्जेल्सको स्टेपल्स सेन्टरमा भएको खेलमा दुवै जनाले बराबरीको नतिजा निकालेका हुन् ।

तुलनात्मकरुपमा टाइसन हावी रहे पनि रिङसाइड जज नराखिएको उक्त आठ राउन्डको भिडन्तमा दुवैले बराबरीको नतिजा आत्मसात गरेका हुन् । उक्त खेलमा वल्र्ड बक्सिङ काउन्सिलसम्बद्ध जजहरुले रिङ रहेको स्थानभन्दा टाढा बसी अंक दिएका थिए ।

खेल अवधिभर टाइसनभन्दा जोन्स थकित देखिएका थिए । खेल सकिएको अन्तिम घण्टी बजेसँगै दुवै खेलाडीले अंकमाल गर्दै खुसी साटेका थिए । खेलपछि टाइसनले दुई मिनेटको राउन्ड पनि तीन मिनेटको जस्तो महसुस भएको प्रतिक्रिया दिएका थिए ।

५४ वर्षीय टाइसनले भने– ‘मलाई दुई मिनेटको राउन्ड पनि तीन मिनेटसम्म चलेको हो कि भन्ने महसुस भएको थियो। यो खेल जित र हारको नतिजामा केन्द्रित भन्दा पनि यसबाट उठेको रकम च्यारिटीलाई दिने लक्ष्य रहेको हो ।’

त्यस्तै अन्य भिडन्तमा एडवार्ड भाजक्वेजले इर्भिन गोन्जालेजलाई स्पलिट डिसिजनमा हराउँदा जमाइने ओर्टिजले सुलैमान सेगावालाई सातौं राउन्डमा टेक्निकल नकआउटको आधारमा पराजित गरे । त्यस्तै, बादोउ ज्याकले ब्लेक मेककेम्यानलाई युनानिमोस डिसिजनमा हराउँदा जेक पाउलले पनि नेत रोबिन्सनलाई दोस्रो राउन्डमा नकआउट गरे ।