अबको कार्यकाल फिल्मलाई उद्योग बनाउनलाई


नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा फिल्म निर्देशक एवं आकाश अधिकारीले नेपाली फिल्म क्षेत्रलाई राष्ट्रिय मान्यताप्राप्त उद्योगका रूपमा स्थापित गर्न लागिपर्ने बताएका छन्।

हालै नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा दोस्रोपटक निर्वाचित भएपछि यसअघिको कार्यकालमा नेपाली फिल्म क्षेत्रलाई राष्ट्रिय मान्यताप्राप्त उद्योगको दर्जा दिलाउन पहल गरिएको र अबको कार्यकालमा यसको कार्यान्वयनमा लाग्ने बताए।

‘राज्यले फिल्म क्षेत्रलाई उद्योग नै मानेको थिएन। फिल्म क्षेत्रमा यत्रो राजस्व तिर्छौं, यत्रो जनशक्ति सक्रिय छौं, अरबौंको लगानी गरेका छौं। र पनि यो कसरी उद्योग होइन भनेर म र मअघिका निर्माताहरुले समेत भन्दा पनि राज्यले मानेकै थिएन। मैले ठोस डाटा पेस गरेपछि राज्यले यसलाई एकपटक अस्वीकार नै गरे पनि ३ वर्षको प्रयासमा अहिले यो क्षेत्रे उद्योगमात्र होइन, राष्ट्रिय मान्यताप्राप्त उद्योग बन्न सफल भएको छ। अब यसका लागि ऐन नियमावली बन्न जरुरी छ। अबको कार्यकालमा त्यसकै लागि लाग्छुु।’ –आकाश भन्छन्।

गत शनिबार सम्पन्न महासंघको निर्वाचनमा आकाशले चन्द्र्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका थिए।