अमेरिकी चुनावमा धाँधली भएको छ : बोलसोनारो


रियो डि जेनेरियो (एजेन्सी)

ब्राजिलले अमेरिकी राष्ट्रपति चुनावमा धाँधलीको आरोप लगाएको छ । अमेरिकी चुनावमा धाँधली भएको खुलेर आरोप लगाउने ब्राजिल पहिलो देश हो । राष्ट्रपति जैर बोलसोनारोले आइतबार अमेरिकी चुनावमा जोय बाइडेनको जितलाई मान्यता दिनु अघि केही समय कुर्ने बताए । ब्राजिलको स्थानिय निकायका लागि भएको चुनावमा मतदान गरेपछि उनले चुनावमा गडबडी सम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपलाई दोहोर्याए ।

वास्तवमा त्यहाँ धेरै नै धाँधली भएको आफुसँग जानकारीका स्रोत भएको उनले बताए । डोनाल्ड ट्रम्प र जैर बोलसोनारोबीच नजिकको मित्रता रहेको छ । बोलसोनारोले ब्राजिलको मौजुदा इलेक्ट्रोनिक भोटिंग प्रणालीलाई लिएर पनि आशंका ब्यक्त गरे । उनले यसमा गडबडी हुनसक्ने आंशंका ब्यक्त गरे । सन् २०२२ को राष्ट्रपति चुनावका लागि मतपत्रका माध्यमबाट परम्परागत तरिकाबाट चुनाव गराउन पनि उनले आग्रह गरे ।

बोलसोनारोले अहिलेसम्म बाइडेनलाई चुनाव जितेकोमा बधाइ दिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानको दिन देखि नै मेल इन ब्यालेटमा धाँधली भएको आरोप लगाइरहेको थियो । उनको टोली पनि बाइडेनको डेमोक्र्याटिक पार्टीका अधिकारीहरुले कम्तिमा ६ राज्यमा हुलाक मार्फतको मतदानमा धाँधली गरेको दावी गरिरहेका छन् ।

ती राज्यमा दुई उम्मेदवारबीच कडा टक्कर थियो । राष्ट्रपति ट्रम्पले न्याय विभाग र संघिय जाँच ब्युरोमाथि पनि आरोप लगाएको थियो । ती विभागका अधिकारी पनि नोभेम्बर ३ मा भएको चुनावी गडबडीमा संलग्न रहेको हुन सक्ने उनले बताएका थिए । ट्रम्पले आइतबार फोक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा, यो खतरनाक कुरा हो जुन भयो बताए ।